वालिङ नगरपालिकामा बाहिरबाट आउने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइन



भूपराज बस्याल, स्याङ्जा ।

वालिङ नगरपालिकाले पालिकाभन्दा बाहिरबाट आउने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने कार्यलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

वालिङमा आज आयोजित सर्वपक्षीय, सर्वदलीय बैठकले वालिङभन्दा बाहिरबाट आउने जो कोहीलाई पनि १४ दिनसम्म नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने निर्णयलाई कडाईकासाथ कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।

१४ दिन पूरा गरेपछि क्वारेन्टाईनमा बसेकाहरुलाई स्वास्थ्य परीक्षण गरेपछि घर घरमा जान पाउने ब्यवस्था मिलाईएकाले यस निर्णयलाई सबैले कार्यान्वयन गरी सहयोग गरिदिन नगर प्रमुख खाँणले आग्रह गर्नुभयो । कोरोना संक्रमितको संख्या बढिरहेका बेला वालिङ नगरपालिकामा संक्रमण फैलिन नदिनका लागि यो निर्णयलाई कडाईका साथ कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा नगद तथा जिन्सी गरी कूल ३१ लाख ५० हजार ९ सय २६ संकलन भएकोमा नगरभित्रका १४ वटै वडामा दुई हजार ९ सय ६५ लाई प्रथम चरणको राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले हालसम्म ३१ लाख ३५ हजार ३ सय ४५ बराबरको राहत वितरण गरिएको छ ।

बाहिरी जिल्लाबाट पैदल यात्रा गरी आउने पैदलयात्रीहरुलाई वालिङ नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा बस्ने ब्यक्तिलाई विभिन्न संघ संस्थाहरुबाट ९ सय २८ छाक खाना खुवाईएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सबै वडा कार्यालयले आ–आफ्ना बैंकहरुसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।

वालिङ नगरपालिका कोभिड १९ राहत कोषमा नगद तथा जिन्सी सामग्री उपलब्ध गराई राहत वितरणमा सहयोग पुर्‍याउनुहुने संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि नगरपालिकाले सहयोगको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्