प्रदेश सांसद मल्लद्वारा गल्याङ नगरपालिकालाई ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग



भूपराज बस्याल, स्याङ्जा ।

गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ ।

स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो । मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिनुभयो । खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्राप्त खाद्यान्न सामाग्री विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो ।

सो अवसरमा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले सांसद मल्लबाट आएको सहयोग बारे जानकारी दिनुभएको थियो । हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, रेडक्रस गल्याङ शाखाका सभापति लक्ष्मण भट्टराई, नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर रखाली नेकपा नेता लोकेन्द्र थापामगर लगायतको पनि सहभागिता थियो ।

गल्याङमा उत्पादित तरकारी तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले खरिद तथा विक्री गर्ने भएको छ ।

गल्याङ नगरपालिका भित्रका तरकारी उत्पादक किसानहरुको समस्याको समाधानका लागि गल्याङ नगरपालिकाको समन्वयमा साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट तरकारी खरिद विक्री हुने भएको हो ।

संस्थाले गल्याङ नगरपालिका भित्र उत्पादित तरकारी खरिद तथा विक्री गर्ने निर्णय भएकाले सम्पर्क गर्न सम्पूर्ण तरकारी उत्पादक किसानहरुलाई संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले आग्रह गर्नुभएको छ ।

सिंजालीका अनुसार बजार मुल्य अनुसार किसानबाट उत्पादित तरकारी उचित मुल्यमा खरिद तथा विक्री हुनेछ । लकडाउनका कारण समस्यामा परेको अवस्थामा सहजीकरणका लागि यस्तो निर्णय भएको गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाको जुनसुकै क्षेत्रमा पुगेर किसानले उत्पादन गरेको तरकारी खरिद गरी बजारीकरण गर्ने सहमति भएको स्पष्ट पार्नुभयो ।

पाण्डेका अनुसार यसका लागि किसानको बारीसम्म पुग्न इन्धनको व्यवस्था गल्याङ नगरपालिकाको तर्फबाट हुनेछ । तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले नाफाको भन्दा पनि सेवाको भावनाका साथ संस्थाले किसानलाई राहत दिन खोजेको बताउनुभयो ।

उहाँले कुहिएर जान सक्ने तरकारीको बजारिकरणका लागि यस्तो निर्णय गरिएको स्पष्ट पार्नुभयो । यसका लागि तरकारी उत्पादक किसानहरुले प्रबन्धक शम्भुनारायण अधिकारी र कर्मचारी सुर्य धमेललाई ९८५६०३२९६८ र ९८५६०५१३१५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्