बेथान्चोक गाउँपालिकामा ४० जनाको आरडिटी गरिदै



मोतीराम तिमल्सिना, काभ्रे । 

बेथान्चोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षिय युवकमा कोरोना भाइरस संक्रमणको आरडिटी एन्टिबडी परिक्षणमा संक्रमण देखिएपछि युवाको सम्पर्कमा रहेका ४० ब्यक्तिहरुलाई एकै साथ आरडिटी परिक्षण गरिने भएको छ ।

युवाको स्वाब लिएर पिसिआर परिक्षणमा संक्रमण देखिएको थिएन । तर उनको इन्टिबडीमा संक्रमण देखिएका कारण युवामार्फत अन्यमा संक्रमण फैलिएको हुन सक्ने आशंकामा अन्य ब्यक्तिहरुको पहिचान गरिएको हो । जिल्ला कमाण्डपोष्ट काभ्रेका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुखडा. नरेन्द्रकुमार झाका अनुसार बेथान्चोकका युवासँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरी कोरोना संक्रमण सम्वन्धी आरडिटी परिक्षण गरिने भएको हो । ‘युवासँगको सम्पर्कमा रहेका ४० ब्यक्तिको पहिचान गरिएको छ’–डा.झाले भन्नुभयो–‘छिट्टै उहाँहरुको आरडिटी परिक्षण हुनेछ ।’ यस अघि नमो बुद्ध  नगरपालिका वडा नम्वर ८ मा ६५ बर्षिय एक बृद्धको आरडिटी परिक्षणमा एन्टिबडी पोजेटिभ देखिएकाले पिसिआर गरिएको थियो । पिसिआरमाउहाँमा संक्रमण  नभएको पुष्टी भए सँगै उहाँसँग सम्पर्कमा रहेका अन्य आठ जना ब्यक्तिहरुको आरडिटी परिक्षण गरिएको थियो । परिक्षण गरिएको सबै ब्यक्तिहरुमा संक्रमण भएको नदेखिएको डा. झाले जानकारी दिनु भयो । जिल्लामा हालसम्म चैत्र १ गते देखि विदेशबाट  फर्किएका र आशंका लागेका अन्य ब्यक्तिहरुको समेत गरी ४ सय ६२ जनाको आरडिटी परिक्षण गरिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा शुक्रबारसम्म ४ सय ६७ वटा स्वाबको पिसिआर परिक्षण गरिएको छ । जस मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ४३ वटा, रामेछाप जिल्लाका २, काठमाडौ जिल्लाका ७, भक्तपुर जिल्लाका ४ समेत गरी ४ सय ६७वटा स्वाब परिक्षण गरिएको हो । यस अघि धुलिखेल अस्पतालमा संकलन गरिएका १० वटा स्वावको नमुना टेकु पठाईएको थियो । धुलिखेल  अस्पतालमा  प्रयोगशाला शुरु भए सँगै टेकुबाट पठाईएका स्वाब धुलिखेलमा परिक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक श्रवणकुमार तिमल्सिनाले कोरोना भाईरस रोकथाम, नियन्त्रण, ब्यवस्थापनसँगै पहिचान र परिक्षणको कामलाई तिब्रता दिएको बताउनु भयो ।

जिल्लामा रहेका दुईवटा  अस्पतालको १३ बेड आईसोलेसन र १३ वटा स्थानीय तहमा रहेका २ सय ९० बेडको क्वारेन्टाईन खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्