गल्याङ नगरपालिकाको कोषमा लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको सहयोग



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग आउने क्रम बढेको छ । नगरपालिकाको राहत कोशमा विभिन्न संस्था तथा व्यक्तिबाट राहत आउने क्रम बढेको हो । विहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिका वडा नम्बर आठ वडा कमिटिले ३१ हजार एक सय १५ रुपैयाँ सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष दिपक अधिकारीले नगरप्रमुख भुपराज अधिकारीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

यस्तै विहीबार नै श्री सिद्व दुग्ध सहकारी संस्था लिमिटेडले पनि दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिपक अधिकारीले नै यो रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सम्पूर्ण सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘तपाईहरुले यसरी दिएको सहयोग हामीलाई निकै भारी हुने गरेको छ । यसको सही सदुपयोग गरेर पारदर्शी रुपमा हिसाब सार्बजनिक गर्नेछौं ।’

नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकामा उत्पादित तरकारीको व्यवस्थापनका लागि भूमिका खेल्न पनि व्यवसायी उद्यमी कृषि सहकारी संस्थलाई आग्रह गर्नुभयो । उहाँले किसानले उत्पादन गरेका सम्पूर्ण उत्पादनहरु बजारमा पठाउन आफु प्रतिबद्व रहेको भन्दै यसका लागि सहयोग गर्न अपिल गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्दै नेकपा वडा कमिटि अध्यक्ष तथा सिद्व दुग्ध सहकारी संस्थाका अध्यक्ष दिपक अधिकारीले विपदको समयमा सहकार्य गर्न खोजेको बताउनुभयो ।

यसैवीच, लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको तर्फबाट आजै गल्याङ नगरपालिकाका लागि असी वटा सेनिटाइजर र दश पाकेट माक्स हस्तान्तरण गरिएको छ । शाखा प्रबन्धक मणीप्रसाद बस्यालले नगरप्रमुख भुपराज अधिकारीलाई यो सहयोग हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख अधिकारीले विपदको बेलामा सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले आगामी दिनमा बैंकसँग सहकार्य गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो । शाखा प्रमुख बस्यालले लक्ष्मी बैंकले सातै वटा प्रदेशमा दश लाखका दरले र संघीय सरकारलाई ३० लाख गरी एक करोड रुपैयाँ सहयोग गरेको जानकारी दिदै शाखाको तर्फबाट यो सहयोग गरिएको स्पष्ट पार्नुभयो । उहाँले २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्