स्वर्गीय आमाको सम्झनामा रेडक्रस उपशाखा पुलाचौरलाई आर्थिक सहयोग



प्रताप बानियाँ, म्याग्दी ।

आफ्नो स्वर्गीय आमाको सम्झना गर्दै बिहीबार मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा रेडक्रसलाई आर्थिक सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी घरभई हाल अमेरिकामा रहनुभएका पूर्णबहादुर खत्री (राजेन्द्र)ले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखालाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले आफ्नी स्व. आमा प्रेमकुमारी खत्रीको सम्झनामा नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखालाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको रेडक्रस उपशाखाले जनाएको छ । उक्त रकम राजेन्द्रले रेडक्रसको आजीवन सदस्य समेत रहनुभएका आफ्ना भाई नगेन्द्रबहादुर खत्रीमार्फत रेडक्रस उपशाखालाई नगद सहयोग गर्नुभएको रेडक्रस पुलाचौरका सभापति शिव बानियाँले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रेडक्रसको योगदानको कदरस्वरुप मातातीर्थ औंसीमा स्व. आमाको सम्झना गर्दै आर्थिक सहयोग गरिएको नगेन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँका स्व. बुबाआमा पोषकबहादुर र प्रेमकुमारी खत्री डिम्ब आधारभूत विद्यालय चिप्लेटीको जग्गादाता तथा संस्थापक समेत हुनुहुन्छ । खत्री परिवारका तीन भाई छोरा तथा चार दिदीबहिनी छोरीहरु रहेका छन् ।

रोजगारको सिलसिलामा अमेरिकामा रहनुभएका राजेन्द्रका माइला भाई नगेन्द्रबहादुर खत्री जनप्रिय माध्यमिक विद्यालय दरबाङको सहायक प्रधानाध्यापकका रुपमा कार्यरत हुनुहुन्छ । यसैगरी कान्छा भाई क्षेत्रबहादुर खत्री (ध्रुव) हाल ईराकमा हुनुहुन्छ । पछिल्लो समय आफ्नो जन्मदिन तथा आफन्तको सम्झनामा सामाजिक तथा शैक्षिक क्षेत्रमा आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रचलन बढ्दै गैरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्