अलपत्र करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दार गरी बसमा घर पठायो



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिले निर्माण क्षेत्रमा कार्यरत करिव दुईसय श्रमिकलाई उद्दार गरी घर पठाएको छ । लकडाउनका कारण समस्यामा परेका निर्माण क्षेत्रका मजदूरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको हो ।

बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदूरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनु भयो । नगरपालिकाले उद्दार गरी घरतर्फ पठाएपछि मजदूरहरु खुशी हुँदै गन्तव्यतर्फ लागेका छन् ।

तिलोत्तमा नगरपालिकाले बर्दियाका लागि लु १ ख ८५८२ नम्बरको बसमा १२ जना बच्चासहित ५७ जनालाई पठाएको छ भने दाङका लागि लु २ ख ४४१ र लु १ ख ९९८८ नम्बरको बसमा ११ बच्चासहित ६४ जनालाई घरतर्फ पठाएको छ । त्यस्तै कैलालीका लागि लु १ ख ८६७५ नम्बरको बसको व्यवस्था गरी ६१ जनालाई घर पठाइएको नगरप्रमुख घिमिरेले बताउनु भयो ।

उनीहरुलाई गन्तव्यसम्म पु¥याउने सबै खर्च नगरपालिकाले व्यहोरेको छ । तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ । नगरपालिकाले गरेको सहयोगप्रति मजदुरले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्