दुरदेखि आएका मजदुरहरुलाई बलेफी गाउँपालिकाको खाद्यान्न



नानीराम नेपाल,सिन्धुपाल्चोक ।

बसी खान सामल छैन, घर जाउँ त सवारी साधन ठप्प भइदियो । बिगत एक बर्षदेखि सिन्धुपाल्चोकमा मजदुरी गर्दै आएका बारेकोट गाउँपालिका २ जाजरकोटका दलबहादुर बुढाको दैनिक जीवनमै लकडाउनले लक लगाइदिएको थियो ।उनका लागि स्थानीय सरकार सहयोगी बनेको छ । लकडाउनका कारण साँझ बिहानको छाक टार्नै नसकीरहेका उनका लागी बलेफी गाउँपालिकाले खाद्यान्न प्रदान गरेपछि आइतबार बलेफी ८ स्थित बसेरीमा पुग्दा प्रफुल्लित देखिन्थे दलबहादुर ।

न काम, न मामको बेलामा राहत पाएपछि उनी भन्दैथिए, अब बाँचिन्छ भन्ने लाग्यो।दलबहादुर जस्तै त्रिवेणी नलगाड गाउँपालिका ४ की देविका खड्काकाको मुहारमा खुसी छाएको छ । लकडाउनको समयसीमा लम्बिीँदै जाँदा घर जान नपाउँदाको छटपटीमा रहेकी उनले आइतबार राहतको महसुस गरेकी छन् ।

गाउँपालिकाभित्रका ज्यालादारी मजदरुहरुको विवरण संकलन पश्चात बलेफी गाउँपालिकाले आइतबार उनीहरुका लागि अत्यावस्यक खाद्य सामाग्री प्रदान गरेको छ । खाने सामल सकिएको थियो घर जान पाइएन, बल्ल राहत पाइयोखुसी लाग्या, देविकाले खुसी ब्यक्त गरिन् ।

आइतबार बसेरीमा पुग्दा काँधमा चामलको बोरा, बायाँ हातमा नुनतेल र दालको पोको बोकेर अस्थायी बास्थानमा फर्कँदै थिईन् दैलेखकी रामसरा शाही । लकडाउनका कारण काम बन्द भइदियो, बिहान बेलुकाको छाक टार्नै धौ धौ परिरहेको थियो उनलाई । रोगको भन्दापनि भोककै सुर्ता थियो उनका लागि ।

स्थानीय सरकारको राहतले भोकले नै मरिएला भन्ने चिन्ता हटेको रामसरा सुनाउँछिन् । तिन साता बितिसकेपछि स्थानीय सरकारबाट चामल, दाल र नुनतेल पाउँदा रामसरा, दलबहादुर र देविका मात्रै हैन, बलेफी गाउँपालिका ८ मा मजदुरी गर्दै आएका ४१ जना मजदुरका मुहा उज्यालिएको छ ।बलेफी गाउँपालिकाले असहाय मजदुरहरुको पहिचान गर्दै खाद्यान्न प्रदान गरेको हो । आइतबार बलेफी ८ मा वडाध्यक्ष चरिबहादुर तामाले दुरदेखी मजदुरीका शिलशिलामा यहाँ आइपुगेका मजदुरहरुलाई राहत प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्