तिलोत्तमा नगरपालिकाद्वारा ३३ सय घर परिवारलाई राहत प्रदान



यमलाल भुसाल,बुटवल ।

तिलोत्तमा नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म प्रकोप व्यवस्थापन कोषमा करिव ७० लाख नगद संकलन गरि ३ हजार ३ सय घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले १७ वटै वडाका अति विपन्न परिवारलाई राहत वितरण गदै आएका छ ।

तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनु भयो ।

त्यस्तै कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गरेका छन् । नीजि तथा आवाशिय विद्यालय अग्रनाईजेसन ंनेपाल प्याव्सनले पनि कोषमा ४ लाख रुपियाँ सहयोग गरेको छ ।
कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् ।

सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो ।नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन् ।

यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ७० लाख नगद संकलन भएको हो ।

नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाल लगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगर प्रमुख घिमिरेले बताउनु भयो ।

हालसम्म राहत वितरणमा नगरपालिकाबाट करिव २२ लाख रुपैंयाँ खर्च भएको छ । नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १हजार ४ सय ४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनु भयो ।

चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको उहाँले बताउनु भयो । पहिलो चरणमा २हजार २ सय परिवारलाई राहत दिइएकोमा दोस्रो चरणमा थप १ हजार १ सय परिवारमा राहत पु¥याइएको छ । नगरपालिकाले लकडाउनको समय अझै बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

यसैबीच तिलोत्तमा उद्योग बाणिज्य संघले तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आइतबार ५५ हजार रुपियाँ प्रदान गरेको छ । संघका अध्यक्ष गुणनिधी भण्डारी –माधव) ले नगर प्रमुख वासुदेव घिमिरेलाई ५५ हजार रुपियाँको चेक प्रदान गर्नु भएको हो । त्यस अवसरमा नगरप्रमुख घिमिरेले राहत कोषमा सहयोग गरेकोमा संघलाई धन्यवाद दिंदै सहयोगको सही सदुपयोग गर्ने बताउनु भयो ।

आइतबारै तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार एवं सिता राइसमिलका सञ्चालक चन्द्रमान श्रेष्ठले भलवारीमा सञ्चालित स्वचालित राइस मिलका तर्फबाट २५ हजार र सिता राइसमिलका तर्फबाट २५ हजार राहत कोषका लागि प्रदान गर्नु भएको हो । राहत रकम नगरप्रमुख वासुदेव घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्