विपद ब्यवस्थापन समितिमा सर्वदलीय संयन्त्र निर्माण नहुदाँ राहत वितरण प्रभावकारी नभएको ठहर



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीमा क्रियाशिल विभिन्न राजनैतिक दलहरुको भैरहवामा बसेको संयुक्त बैठकले सघीय सरकारले अवलम्वन गरेको विपद ब्यवस्थापन समितिमा प्रदेश, जिल्ला एबं स्थानीय स्तरमा सर्वदलीय संयन्त्र निर्माण नभएकाले राहत वितरणमा एकरुपता नभएको, ब्यापक अनियमितता भएको, अनुगमन नभएको र कालो बजारी भएको ठहर गरेको छ ।

बैठकले हाल वितरण भैरहेको राहत सामाग्री खरिदमा अनियमितता र वितरणमा पूर्वाग्रह र विभेद गरिएको निष्कर्ष सहित दैनिक ज्यालादारी, निम्न आय भएका तथा विपन्न परिवार, भाडामा वस्ने विद्यार्थी र मजदुरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भैरहवामा बसेको बैठकले लक डाउनका कारण सडकमा अलपत्र परेका नागरिकका लागि खानपानको उचित ब्यवस्थापन गरी सवारी साधनको समेत प्रवन्ध मिलाई गन्तब्यमा पुर्याउने ब्यवस्था मिलाउन सम्वन्धित सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।

नेपाल प्रबेश गर्नका लागि लामो समयदेखि भारतीय सिमानामा आएर क्वारेण्टाइनमा बसेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी नेपाल प्रबेश गराई शंकाष्पद विमारीलाई क्वारेण्टाइनमा राखी अन्यलाई घर जाने ब्यवस्था मिलाउन पनि दलहरुले माग गरेका छन् ।

नेपाली काँग्रेस, राष्ट्रिय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको अभाव, चरम मूल्य बृद्धि, कालोबजारी नियन्त्रण गर्न र स्थानीय कृषि उत्पादनको बजार ब्यवस्थापन गर्न माग गरेको छ ।

यस्तै नेपाल सरकारले वर्तमान अवस्थामा गरिरहेको स्वास्थ्य परीक्षण कार्य सुस्त रहेकाले सीमा क्षेत्रमा बस्ने र आम नेपालीको स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन माग गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र जनताको सेवामा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, पत्रकारलगायतलाई धन्यवाद ज्ञापन गर्दै बैठकले लकडाउनको पूर्ण पालना गरी आफु पनि बाँच्न र अरुलाई पनि बचाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्