रुसी नेताद्वारा कोरोना संक्रमणलाई गम्भिरता पुर्वक नलिएको स्विकार



मस्को (एजेन्सी) । 

अमेरिका र युरोपेली देशपछि अब रुसमा पनि कोरोना भाइरस तिब्र गतिमा फैलिन थालेको छ । अहिलेसम्म रुसमा १८ हजार ३ सय २८ संक्रमित पुष्टि भइसकेको छ भने १ सय ४८ जना संक्रमण पिडितले ज्यान गुमाइसकेको छ ।

आइतबार मात्रै रुसमा २ हजार १ सय ८६ नयाँ संक्रमण देखिए, जुन एक दिनमा आएको सबैभन्दा धरै हो । राजधानी मस्कोको स्थिति अन्त्यन्त गम्भिर बन्दै गइरहेको छ । मस्कोमा कुल संक्रमित आंकडा ९ हजार नाघिसकेको छ । राजधानीमा मात्रै देशको करिब ५० प्रतिशत संक्रमित छन् ।

करिब एक महिनसम्म कोरोना भाइरसको विश्व ब्यापी संक्रमणलाई धेरै गम्भिरता पुर्वक नलिएको रुसी नेताले अब स्विकार गर्न थालेका छन् । देशको राजधानी मस्कोका मेयर सारजेई सोब्यानिनका अनुसार भाइरसले त्यहाँ गति लिइरहेको छ । मस्कोकी उप मेयर एनास्टासिया रकोवाले राजधानीमा संक्रमित संख्यामा दोब्बरले बढिरहेको र त्यसमा करिब आधा संख्यामा ४५ बर्ष मुनिका भएको बताएकी छन् ।

यसबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मस्कोबाट बाहिर आफनो अर्को निवासमा गएका छन् । उनले कोरोनासँग लड्ने जिम्मेवारी प्रधानमन्त्री मिखाइल मिसुस्टिन र मस्कोका मेयर सारजेई सोब्यानिनलाई सुम्पेका छन् ।

मस्कोका उप मेयर रकोवाले राजधानी अस्पताल संक्रमित विरामीले भरिसकेका जानकारी दिएकी छन् । मस्कोबाट उत्तर पुर्वमा पर्ने कोमी तेल उत्पादक क्षेत्रको राजधानी सिक्तिवकरको मुख्य अस्पतालमा २ सय संक्रमित विरामी छन् । आपुर्तिमा आएको कमीले देशको स्वास्थ्य सेवा प्रभावित भइरहेको स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले बताए । यसअघि राष्ट्रपति पुटिनले अन्य देशलाई मद्दत गर्ने क्रममा ठुलो परिमाणमा मेडिकल सामाग्री पठाएका थिए ।

मस्कोमा संक्रमितको आंकडामा तिब्र बृद्धी आएपछि अधिकारीहरुले नागरिक आवागमनमा रोक लगाएको छ । गत हप्ता नगरवासीहरुलाई घर मै रहन आदेश दिइएको थियो । अब नागरिकहरु खाना, औषधी र कुकुर घुमाउनका लागि मात्र आफ्नो घरबाट बाहिर निस्कन पाउने छ । प्रहरी पनि सहरमा गस्ती लगाउँदै नागरिकलाई घरमै बस्न अपिल गरिरहेका छन् ।

यसबीच डाक्टर युनियनका प्रमुख एनास्टासिया वसिलिएवाले सरकार माथि कोरोनाको विरामीलाई निमोनिया बताएर आंकडा कम गरेको आरोप लगाएकी छन् । त्यसपछि एनास्टासियालाई गत हप्त गिरफतार गरिएको थियो । मस्को अस्पतालका निर्देशकको एक पत्र अनलाईन चुहावत भएको थियो, जसले रुसमा भनिएको संक्रमित संख्या गलत भएको प्रष्ट हुन्थ्यो । यो पत्रमा मस्को हेल्थ डिपार्टमेन्टका प्रमुख एलेक्सी ख्रिपुनले दस्तखत गरेका थिए । स्वास्थ्य मन्त्रीले एक अन्तरवार्तामा देशमा निमोनियाका विरामीको उपचार पनि कोरोना भाइरसका विरामीलाई जस्तै गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्