इन्टरनेट क्याफे बन्द, फुटपाथबासी भोकै



टोकियो, (एजेन्सी)

जापान सरकारले मुलुकका थुप्रै प्रमुख शहरमा धमाधम इन्टरनेट क्याफे बन्द हुन थालेकाले हजारौं घरवारविहीनका लागि आवासको व्यवस्था गर्न हतारिएको छ । निश्चित आवास नभएकाहरुले त्यस्ता क्याफेलाई बस्ने अस्थायी स्थान बनाएका थिए ।

ती क्याफेहरु जापानमा कोरोना भाइरसको समस्या शुरु नहुँदासम्म चौबीसै घन्टा खुला हुने गरेका थिए । तिनीहरुमध्ये अधिकांशमा प्राइभेट बुथ, स्नान गृह, गेम्सलगायतका मनोरन्जनका सुविधाहरु उपलब्ध हुने गरेका छन् । तर सरकारले कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारी फैलिन नदिन ती क्याफे बन्द गरिएका हुन् ।

हुन त अन्य विकसित मुलुकहरुको तुलनामा जापानमा घरवारविहीनहरुको संख्या न्यून रहेको छ । राजधानी टोकियोमा मात्र यसरी इन्टरनेट क्याफेमा आश्रय लिने चार हजारभन्दा बढी मानिस रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

नगर अधिकारीहरुले अहिले अलपत्र अवस्थामा पुग्न लागेका तिनीहरुलाई होटेल कोठामा र अन्य अस्थायी वासस्थानमा राख्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्