राष्ट्रपिताका हत्यारालाई फाँसी



ढाका, (एजेन्सी)

सन् १९७५ मा बंगलादेशको स्वाधीनता सेनानीको हत्या गरेको अभियोग लागेका एक पूर्वसैनिक अधिकारीलाई मृत्युदण्ड दिइएको छ ।
यसै साता राष्ट्रपतिसमक्ष क्षमादानका लागि राखिएको निवेदन अस्वीकार भएपछि अब्दुल मास्जेदलाई आइतबार राजधानी ढाकामा फाँसी दिइएको हो ।

राष्ट्रपिता शेख मुजिबुर रहमानको हत्या गरी २५ वर्षसम्म फरार रहेका उनलाई मंगलबार गिरफ्तार गरिएको थियो ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका पिता रहमानलाई सन् १९७५ मा भएको सैनिक विद्रोहमा मारिएको थियो । त्यसबेला रहमानको परिवारका अधिकांश सदस्य मारिएका थिए । बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको मात्र चार वर्षपछि रहमान मारिएका हुन् ।

सो हत्याकाण्डपछि निरन्तर बंगलादेशमै बसिरहेका मास्जेद १९९६ मा हसिना प्रधानमन्त्री निर्वाचित भएपछि भारततर्फ भागेको विश्वास गरिएको थियो । हसिनाको सरकारले उनका पिताका हत्याराहरुलाई दिइएको कानुनी प्रत्याभूति उल्टाउन नयाँ कानु बनाएको थियो ।

त्यसपछि बल्ल सन् १९९८ मा मास्जेदलगायत अन्य एक दर्जन सैनिक अधिकारीलाई अदालतले मृत्युदण्ड सुनाएको थियो । बंगलादेशको सर्वोच्च अदालतले सन् २००९ मा सो मृत्युदण्ड निर्णय सदर गरेपछि तत्कालै पँँच जना हत्यारालाई फाँसी दिइएको थियो । गत महिना मात्र स्वदेश फर्केका मास्जेद गिरफ्तारीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्