अर्थतन्त्र जोगाउन विज्ञहरूको सुझाव, उत्पादन बढाऔं, खर्च कटाऔं !



परिवर्तन देवकोटा, काठमाडौं ।

अर्थतन्त्रमा कोरोना भाइरसले गम्भीर असर पारेसँगै विज्ञहरू चिन्तित भएका छन् । अबको तीन वर्षभन्दा बढीसम्म अर्थतन्त्र सुध्रन नसक्ने भन्दै सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्ने विज्ञहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्र नै एक शताब्दी पहिलेको अवस्थामा फर्कनसक्ने खतरा भएको औंल्याइसकेको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ८ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण र त्यसपछि घोषित लकडाउन (बन्दाबन्दी)का कारण अहिले मुलुकको समग्र अर्थतन्त्र सुस्त बनेको छ । यसका कारण उद्योगधन्दा, कलकारखानालगायतका क्षेत्रमा तरलता अभाव रहेको छ । तरलता अभावका कारण श्रमिकहरूलाई तलब तथा ज्याला भुक्तानीमा नै समस्या उत्पन्न भइसकेको भन्दै कतिपय उद्योगधन्दाहरू बन्दको अवस्थामा छन् ।

विज्ञहरूले अर्थतन्त्र रोकिँदा मुलुकमा गम्भीर संकट पर्ने भन्दै सरकारले विभिन्न रणनीतिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

सांसद विकास कोष चलाऔंः बाँस्कोटा

कोरोना भाइरसले पारेको प्रभाव एकदमै जटिल हुनसक्ने पूर्वानुमान रहेको भन्दै पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले त्यसतर्फ सचेत रहन जरुरी रहेको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले आर्थिक गतिविधि बन्द हुँदा विदेशी मुद्राको सञ्चिति घटेको र आयातसमेत नभएको बताउनुभयो । यस्तो अवस्थामा सरकारले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्छ ।

सरकारले भएको चालू बजेट, पुँजीगत बजेट तथा वित्त बजेटबाट खर्च कटौती गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले तीनै तहका सरकारसँग समन्वय गरी खर्च कटौती गर्नसक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘पुँजीगत बजेटमा पनि केही दोहोरो तथा तेहोरो पर्न गएको हुन्छ, सांसद विकास कोषजस्ता कोषमा ठूलो रकम रहेको हुन्छ, त्यसबाट पनि कटौती गर्न सक्नुपर्छ ।’

कम्तीमा पनि अबको तीन वर्ष विलासी वस्तुहरूको खरिदमा रोक लगाउनुपर्ने पूर्व अर्थसचिव बाँस्कोटाले बताउनुभयो । ‘सवारीसाधनहरू, जग्गा, कम्प्युटरजस्ता विलासी वस्तुको खरिदमा सरकारले कम्तीमा पनि तीन वर्ष रोक लगाउनुपर्छ।’ –उहाँले भन्नुभयो ।

अहिले झन्डै ८५ लाख विद्यार्थी लकडाउनमा पर्दा ठूलो असर पर्ने भन्दै उहाँले विद्यार्थीहरूलाई दिँदै आएको दिवा खाजा, छात्रवृत्तिलगायतका सुविधा कटौती गरी डिजिटल माध्यमबाट शिक्षा दिनुपर्ने अवस्था आएको बताउनुभयो । यसका लागि सरकारले सहुलियतमा कम्प्युटर दिनेलगायतका कामहरू गर्न सक्ने उहाँले बताउनुभयो ।

सरकारले अहिले लकडाउनमा रहेका किसानलाई उत्पादनमा लगाउन विभिन्न किसिमका सहयोग गर्नुपर्ने तथा उत्पादित सामग्रीलाई खरिद गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले चालू बजेट, पुँजीगत बजेट तथा वित्त बजेटबाट खर्च कटौती गरेर अर्थतन्त्रलाई सन्तुलनमा राख्न काम गर्नुपर्छ।’ –पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा

सबैभन्दा पहिले ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आपूर्तिकर्मीहरूको स्वास्थ्य सुरक्षा गर्नतर्फ सरकार लाग्नुपर्छ।’ –अर्थविद् डा. चन्द्रमणि अधिकारी

रणनीतिको खाँचोः अधिकारी

अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारले आर्थिक मन्दीको असर कम गर्न रणनीतिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैभन्दा पहिले ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आपूर्तिकर्मीहरूको स्वास्थ्य सुरक्षा गर्नतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो ।

अहिले स्वास्थ्यकर्मीले पीपीई नपाएको अवस्था, आइसोलेसनमा व्यवस्थापन राम्रो नभएको अवस्था तथा आपूर्ति पनि सुमधुर हुन नसकेको अवस्थामा सरकारले पहिले यसलाई मुख्य प्राथमिकतामा ध्यान दिनुपर्ने उहाँले जनाउनुभयो ।

उहाँले किसानले उत्पादन गरेको वस्तुहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै अर्थविद् डा. अधिकारीले भन्नुभयो–‘लकडाउनले कतै फालाफाल भएको छ, कतै भोकभोकै बस्नुपरेको छ, सरकारले यसलाई शीघ्र व्यवस्थापन गर्नुपर्छ ।’ उहाँले किसानले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुहरूलाई सरकारले किनिदिएर आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सरकारले आगामी बजेटमा नयाँ योजना नथपी कोरोना भाइरसबाट जोगिन कार्यक्रम ल्याउन सरकारलाई अर्थविद् डा. अधिकारीले सुझाव दिनुभयो ।

अहिले अर्थतन्त्र स्थिर भएको बताउँदै उहाँले सरकारले आर्थिक सन्तुलनका लागि बजेट आम्दानी, खर्च तथा अन्य खर्चगत क्षेत्रलाई पुनः मूल्यांकन गरेर आगामी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब मानिसको जीवनमा कोरोनाबाट पाठ सिकेर सकारात्मक परिवर्तन तथा गुणस्तरीय परिवर्तन आउनुपर्छ, सरकारले त्यो कुरा हेर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्