चीनमा भेटिए १०८ नयाँ कोरोना संक्रमित



काठमाडौँ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ । कोरोना भाइरसको महामारीबाट विश्वभर १ लाख १४ हजार २४७ जनाको मृत्यु भएको छ भने १८ लाख ५३ हजार १५५ जना संक्रमित भएका छन्।  कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा पछिल्लो केही दिनयता लगातार कोरोना संक्रमितको संख्या बढेको छ।

कोरोना भाइरसको संक्रमण मत्थर भइसकेको चीनमा केही दिनअघि मात्रै ७४ दिन लामो लकडाउन हटाइएको थियो। लकडाउन हटेयता लगातार कोरोना संक्रमितको संख्या बढिरहेका छन्।

केही समय संक्रमितको संख्या शूल्य रहेको चीनमा पछिल्लो २४ घण्टामा १०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दुई दिन क्रमशः २४ घण्टामा ४२ जना र ९९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए।

तीमध्ये ९८ जना भरखरै विदेशबाट आएका चिनियाँ नागरिक हुन्।

बीबीसी र रोयटर्सका अनुसार यसबाट चीनमा कोभिड-१९ को दोस्रो तरंग शुरु हुने जोखिम देखिएको छ। आन्तरिक बिरामी कम हुँदै जाँदा कोरोना भाइरस संक्रमणको उद्‍गम स्थल वुहानमा ११ सातादेखि लगाइएको लकडाउन गत साता हटाइएको छ।

आइतबार चीनमा कोभिड-१९ का कारण दुई जनाको मृत्यु भयो। हालसम्म चीनमा मृतक संख्या तीन हजार तीन सय ४१ पुगेको छ।

यस्तै, कोभिड-१९ को लक्षण देखिएका ६१ जना बिरामी पनि आइतबार रेकर्ड भएका छन्। उनीहरूको परीक्षण भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्