विश्वभरी २२ हजार भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित



पेरिस (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को एक प्रतिवेदनले विश्वका ५२ देशमा कोरोना भाइरस विरुद्धको युद्ध लडिरहेको २२ जहार ७३ स्वास्थ्यकर्मी संक्रमित भएको जनाएको छ । उनीहरु काम गर्ने क्रममा वा समुदायमा संक्रमितहरुको सम्पर्कमा आएपछि उक्त संक्रमणको चपेटामा आएका हुन् ।

स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि निजि सुरक्षा उपकरण (पीपीई) जस्तै मास्क, गगल्स, ग्लब्स र गाउन्स पर्याप्त संख्यामा उपलब्ध गराउनु पर्ने संस्थाले जनाएको छ । स्वास्थ्यकर्मीहरुको अधिकारको रक्षा हुनु पर्ने पनि डब्ल्युएचओले जनाएको छ । उनीहरुलाई काम गर्न राम्रो वातावरण बनाइदिनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसबीच विश्वमा कोरोना भाइरस संक्रमित १७ लाख ८८ हजार नाघेको छ । यस संक्रमणबाट मर्नेको संख्या १ लाख ८ हजार नाघेको छ । महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा विगत २४ घन्टामा १ हजार ९ सय २० जनाको मृत्यु भएको छ । यसले अमेरिकाले मृतक संख्यामा इटालीलाई उछिनेको छ र यो २० हजार ५ सय ७७ पुगको छ । इटालीमा मर्नेको संख्या १९ हजार ४ सय ६८ पुगेको छ ।

भारतमा संक्रमित संख्या ८ हजार ४ सय ४६ पुगेको छ भने भाइरसबाट २ सय ८८ को मृत्यु भइसकेको छ । भारतमा लकडाउनको अवधी बढाउने तयारी भइरहेको सन्चार माध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्