खतरनाक साइड इफेक्ट देखिएपछि फ्रान्समा औषधीको प्रयोग बन्द



पेरिस, (एजेन्सी)

फ्रान्सको एक अस्पतालले कोरोना भाइरसको रोकथाममा प्रभावकारी हुन सक्ने मानिएको मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग बन्द गर्ने निर्णय गरेका छ ।

यो औषधीले बिरामीको मुटुको रोगका लागि अत्यन्त खतरा बनेको बताइएको छ । नाइसस्थित युनिभर्सिटी हस्पिटल सेन्टर कोरोना बिरामीमाथि हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिरहेका कयौं अस्पतालमध्यको एक हो ।

उक्त अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालले गत मार्च २२ देखि यसको केही परीक्षण शुरू गरेको उल्लेख गरिएको छ । जसमा ४ फरक फरक प्रयोग भएको र त्यसमा एक हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग पनि थियो । अस्पतालका कार्डियोलोजी डिपार्टमेन्टका प्रमुख प्रोफेसर एमाइल फेरारीले उक्त औषधीको साइड इफेक्ट देखिएको र केही बिरामीमा यो विधि खतरनाक सावित भइरहेकोले उनीहरूमा यो उपचार रोक्नुपरेको जानकारी दिए ।

कोरोना संक्रमणका उपचारको अहिलेसम्म कुनै औषधी तयार भएको छैन । विश्व महामारी बनेको यो संक्रमणको उपचारमा धेरै ठाउँमा फरक फरक उपचार विधि परीक्षण तथा प्रयोग भइरहेको छ । यद्यपि कुनै पनि औषधी र विधि प्रभावकारी सावित हुन सकेको छैन ।

कोरोना संक्रमित बिरामीमा मलेरियाको औषधीको प्रयोग प्रभावकारी देखिएको दाबी भारतका चिकित्सकहरूले गरेका थिए । यसको प्रयोग चिनियाँ अस्पतालहरूमा पनि गरिएको थियो । यद्यपि यसको प्रभावकारिताको प्रामाणिकता पुष्टि भइसकेको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको उपचार हाइड्रोक्सिक्लोरोक्विन औषधीबाट सम्भव हुने बताउँदै पारासिटामोलसँगै उक्त औषधीको निर्यातमा रोक लगाएका भारतमाथि बिक्री खुला गर्न चेतावनी दिएको थियो । यस घटनाले उक्त औषधीको प्रचार एकाएक विश्वव्यापी बन्यो । भारतले अमेरिकी दवाबमा उक्त औषधीको निर्यातलाई खुला गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्