खतरनाक साइड इफेक्ट देखिएपछि हाइड्रेक्सि क्लोरोक्वाइन औषधीको प्रयोग बन्द



पेरिस (एजेन्सी) ।

फ्रान्सको एक अस्पतालले कोरोना भाइरसको रोकथाममा प्रभावकारी हुन सक्ने मानिएको मलेरियाको औषधी हाइड्रेक्सि क्लोरोक्वाइनको प्रयोग बन्द गर्ने निर्णय गरेका छ ।

यो औषधीले विरामीको मुटुको रोगका लागि अत्यन्त खतरा बनेको बताइएको छ । नाइस स्थित युनिभर्सिटी हस्पिटल सेन्टर कोरोना विरामीमाथि हाइड्रेक्सि क्लोरोक्वाइन औषधी प्रयोग गरिरहेका कयौं अस्पताल मध्यको एक हो ।

उक्त अस्पतालले जारी गरेको विज्ञप्तीमा अस्पतालले गत मार्च २२ देखि यसको केही परीक्षण सुरु गरेको उल्लेख गरिएकोछ । जसमा ४ फरक फरक प्रयोग भएको र त्यसमा एक हाइड्रेक्सि क्लोरोक्वाइनको प्रयोग पनि थियो । अस्पतालका कार्डियोलोजी डिपार्टमेन्टका प्रमुख प्रोफेसर एमाइल फेरारीले उक्त औषडीको साइड इफेक्ट देखिएको र केही विरामीमा यो विधि खतरनाक सावित भइरहेकोले उनीहरुमा यो उपचार रोक्नु परेको जानकारी दिए ।

कोरोना संक्रमणका उपचारको अहिले सम्म कुनै औषधी तयार भएको छैन । विश्व महामारी बनेको यो संक्रमणको उपचारमा धेरै ठाउँमा फरक फरक उपचार विधि परीक्षण तथा प्रयोग भइरहेको छ । यद्यपी कुनै पनि औषधी र विधि प्रभावकारी सावित हुन सकेको छैन ।

कोरोना संक्रमित विरामीमा मलेरियाको औषधीको प्रयोग प्रभावकारी देखिएको दावी भारतका चिकित्सकहरुले गरेका थिए । यसको प्रयोग चिनियाँ अस्पतालहरुमा पनि गरिएको थियो । यद्यपी यसको प्रभावकारिताको प्रामाणिकता पुष्टि भइसकेको छैन ।

यसबिच अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले कोरोना संक्रमणको उपचार हाइड्रेक्सि क्लोरोक्वाइन औषधीबाट सम्भव हुने बताउँदै पारासिटामोलसँगै उक्त औषधीको निर्यातमा रोक लगाएका भारतमाथि बिक्री खुला गर्न चेतावनी दिएको थियो । यस घटनाले उक्त औषधीको प्रचार एकाएक विश्वब्यापी बन्यो । भारतले अमेरिकी दवाबमा उक्त औषधीको निर्यातलाई खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्