कोरोना संक्रमणबाट बेलायतमा एकै दिन ९ सय ८० को मृत्यु



न्युयोर्क (एजेन्सी) । 

विश्व महामारी नोवेल कोरोना भाइरस संक्रमणबाट मर्ने १ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभरी यस भाइरसबाट मर्ने १ लाख २ हजार ६ सय ७ पुगेको छ ।

यस महामारीबाट विश्वभरी १७ लाख हाराहारीमा संक्रमित भइसकेका छन् । अहिले सम्म ३ लाख ७४ हजार ५ सय ९ जना संक्रमित उपचारपछि स्वस्थ भइसकेको बाल्टिमोर स्थित उक्त युनिभर्सिटीले जनाएको छ ।

कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकामा संक्रमित संख्या ५ लाख २ हजार ८ सय ७६ पुगेको छ भने१८ हजार ७ सय ४७ ले ज्यान गुमाइसकेको छ । यहाँ शुक्रबार एक दिनमा २ हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।यस भाइरस संक्रमणबाट सबैभन्दा बढी इटालीमा १८ हजार ८ सय ४९ को मृत्यु भइसकेको छ ।

विगत २४ घन्टामा फ्रान्समा करिब १ हजारको मृत्यु भए । फ्रान्सको स्वास्थ्य मन्त्रालयका निर्देशक जेरोम सलोमोले देशमा कोरोना भाइरसबाट मर्ने १३ हजार नाघेको जानकारी दिएका छन् । युरोपमा मात्र कोरोना संक्रमणबाट ६० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
यसबीच इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टेले देशमा लकडाउन तीन हप्ताका लागि बढाएको छ । मंगलबार केही पसल मात्र खुल्ने प्रधानमन्त्रीले बताए । उनले भने ( यो कठिन फैसला हो तर हामीले गर्नु पर्छ र म राजनितिक रुपमा यसको जिम्मेवारी लिन्छु ।
सुरुमा यो लकडाउन ३ अप्रिलसम्म थियो, त्यसपछि अप्रिल १३ सम्म बढाइयो । अब यसलाई मे ३ सम्म बढाएको हो ।

यस महामारीले बेलायतमा शुक्रबार एक दिनमा सबैभन्दा अधिक ९ सय ८० को मृत्यु भयो । अहिलेसम्म अस्पतालमा मर्नेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ । बेलायतमा प्रति दिन १९ हजारको कोरोना जाँच हुने स्वास्थ्य मन्त्री मेट हानककले जानकारी दिए । यसबीच कोरोना संक्रमणको उपचार गराइरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भइरहेको र अहिले उनी थारै हिँडडुल गर्न सक्ने भएको उनको कार्यालयले जानकारी दिएको छ ।

भारतमा कोरोना संक्रमित कुल संख्या बढेर ६ हजार ७ सय ६१ र मर्नेको संख्या २ सय ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्