कोरोनाविरुद्धको युद्ध जित्नेछौं: एलिजाबेथ



लन्डन, (एजेन्सी)

विश्व महामारी कोरोना भाइरसको संक्रमणसँग लडिरहेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले देशवासीका नाममा गरेको सम्बोधनमा यस भाइरसविरुद्धको युद्ध जित्न सफल हुने बताएकी छन् ।

६७ वर्षको आफ्नो शासन कालमा पाँचौं पटक दिएको सम्बोधनमा महामारीले देशवासीहरूलाई सरकारी निर्देशन पालना गर्न र एक–अर्काको मद्दत गरिरहेकामा धन्यवाद दिइन् ।

विन्डसर क्यासलबाट दिएको आफ्नो सम्बोधनमा महारानीले भनिन्– ‘यदि हामी एकजुट र प्रतिज्ञामा दृढ रहन सक्यौं भने यस महामारीबाट माथि आउनेछौं ।’

महारानी आफै प्रिन्स फिलिपसँग आइसोलेसनमा बसिरहेकी छन् । महारानी एलिजाबेथले आफ्नो कार्यकालको पाँचौं सम्बोधन बेलायतसहित विश्व नै कोरोना भाइरसको चपेटा फसिरहेको बेलामा गरेकी हुन् ।

महारानीले देशको चिकित्सा सेवा एनएचएसमा काम गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिइन् । यस कठिन परिस्थितिमा देश उनीहरूका साथमा उभिएको उनले बताइन् ।

महारानीको उक्त भाषण रेकर्ड गर्न मात्र एक क्यामराम्यानलाई अनुमति दिइएको थियो । क्यामराम्यानले ग्ल्बोस र सर्जिकल मास्क लगाएका थिए ।

क्यामराम्यानले धेरै दूरीबाट ९३ वर्षीया महारानीको यो भाषण रेकर्ड गरे । यसैबीच बेलायतमा कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार पुगेको छ । मर्नेहरूमा ३३ वर्षदेखि १ सय ३ वर्षसम्मका रहेको बताइएको छ । बेलायतमा कोरोना भाइरस संक्रमित ५० हजार नाघेको छ ।

 

प्रतिक्रिया दिनुहोस्