छाडा जनावरका लागि आयंकाको सहयोग



कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेपछि कलाकर्मीहरु पनि लकडाउनबाट समस्या पर्नेहरुका लागि सहयोगको हात अगाडि बढाइरहेका छन्।

 

केही कलाकर्मीले सरकारले स्थपना गरेको कोरोना नियन्त्रण कोषमा सहयोग गरेका छन् भने केहीले आप्mनै तर्फबाट आफ्नो क्षेत्रका मानिसहरुका लागि सहयोगको हात अगाडि बढाएका छन्। यसै क्रममा नायक नायिका दम्पती आयुषमान देशराज जोशी र प्रियंका कार्की भने भिन्न अभियानमा जुटेका छन्।

 

यो आयंका दम्पतीले लकडाउनका कारण खान नपाएका छाडा जनावरका लागि भन्दै एक लाख रुपियाँ सहयोग घोषणा गरेका छन्। एक कचौरा पानी र एक कचौरा खाना जनावरका लागि घरबाहिर राख्ने अभियानका लागि सहयोगस्वरुप आयुष्मान र प्रियंकाको आयांका फाउन्डेसनले एनिमल नेपाललाई एक लाख रुपियाँ सहयोग गरेको हो।

 

एनिमल नेपालले लकडाउनका समयमा छाडा जनावरका लागि एक कचौरा खाना र एक कचौरा पानी आँगनमा राख्न आग्रह गरेको छ।
यसै गरी फिल्म निर्माता, गायक तथा संगीतकार अर्जुनकुमारले कोरोना नियन्त्रण कोषमा ५० हजार रुपियाँ सहयोग गरेका छन्। दैनिक काम गरेर गुजारा गर्नुपर्ने विपन्न वर्गका फिल्म प्राविधिकहरुका लागि दर्जनौं कलाकर्मीले सहयोगको हात उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्