भारतको सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना



काठमाडौं ।

आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल भर्ना गरिएकोमा बिहीबार बिहान उनको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार धारावी बस्तीमा १० लाख भन्दा बढी मानिसको बसोबास छ । त्यहाँ एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएसँगै धेरैमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । तर यसको पुष्टि सरकारी अधिकारीले भने गरेका छैनन् ।

सरकारी अधिकारीले ती व्यक्ति बस्दै आएको घरलाई सिल गरेको छ र परिवारका सात सदस्यलाई क्वारेन्टाइनमा राखेको छ । मुम्बईको मध्य क्षेत्रमा सो बस्ती छ ।

कोरोना भाइरसको सक्रमणबाट जोगिनका लागि सामाजिक दूरी अनिवार्य भए पनि धारावी जस्तै अति खाँदिएको बस्तीमा भने त्यो सम्भव देखिएको छैन । यसले गर्दा संक्रमण धेरैमा फैलिन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

मुम्बई भारतका लागि कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ का रुपमा विकास भएको छ । मंगलबार एकै दिन मुम्बईमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बुधबार थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म महाराष्ट्रमा ३३५ जनामा संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ ।

यो एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती हो ।

प्रतिक्रिया दिनुहोस्