कोरोनाको लक्षण देखिएका विदेशीको निःशुल्क उपचार गर्न साउदी राजाको निर्देशन



एजेन्सी ।

साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले कोरोनाको लक्षण देखिएका विदेशीलाई निःशुल्क उपचार गर्न आदेश जारी गरेको दूतावासले जानकारी दिएको छ।

साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्ने आदेश दिएको साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो। यो आदेशबाट साउदी अरबमा भिषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन्।

 

साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताएका छन्। साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ४ सय ५३ पुगेको छ।

 

कुल संक्रमितहरु मध्ये हालसम्म १ सय १५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ। राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ।

अहिले सम्म नेपालीहरूमा संक्रमण नभएको पनि दूतावासले बताएको छ।

प्रतिक्रिया दिनुहोस्