कतारमा ६ सय ३४ कोरोना संक्रमित,एक बंगलादेशीको मृत्यु



न्युज अफ नेपाल,हेटौंडा । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कतारमा सोमबारसम्म संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँबाट पत्रकार अनिल पराजुलीले बताए ।

मन्त्रालयले दिएको जानकारीअनुसार आइतबारसम्म ४८ जना निको भएर घर फर्केका छन् । हालसम्म १८ हजार ८ सय ७७ जनाको जाँच भएको छ । यसअघि कतारमा कोरोना भाइरसबाट संक्रमित ५७ वर्षीय एक बंगलादेशी नागरिकको मृत्यु भएको थियोे । उनमा श्वासप्रश्वास सम्बन्धी पुरानै रोग रहेको थियो ।

उनलाई मार्च १६ मा अस्पताल भर्ना गरिएको थियो । यससँगै कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । आइतबार भाइरस देखिएकामध्ये केही विदेशबाट गएका छन् भने प्रायः पुरानै बिरामीबाट संक्रमित थिए । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि मार्च १७ देखि कतारी प्रशासनले कतारको सनैयालाई शिल गरेको छ । सनैयास्थित हरेक क्याम्पको नजिकजसो सामान बेचबिखन गर्ने बकला (किराना पसल) रहेको छ, जुन विहान ९ बजेदेखि एक वा दुई घण्टामात्र खुल्ने गरेको धनुषाका महेश्वर रायले जानकारी दिनुभयो । कतारमा रोजगारीका लागि करिब पाँच लाख नेपाली रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्