कोरोना अपडेट : नेपालसहित विश्वका १९२ मुलुकमा संक्रमण, १५ हजार ३०६ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण हालसम्म १९२ मुलुकमा भेटिएको छ । कोरोना संक्रमणका कारण विभिन्न मुलुकका १५ हजार ३०६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, विश्वभरका ३ लाख ४९ हजार ९८० जनामा कोरोनाको संक्रमण भेटिएको छ भने १ लाख ३४५ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको (कोभिड–१९) कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

चीनको वुहानमा पहिलो पटक देखा परेको यो भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ भने ८१,०९३ जना संक्रमित भेटिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन घट्दै गएको छ । चीनमा मात्रै ७२ हजार ७ सय ३ जना संक्रमित पूर्ण उपचारपछि घर फर्किएका छन् ।

अहिले चीनभन्दा पनि कोरोना प्रभावित मुलुक इटाली बनेको छ । कोरोना संक्रमणका कारण इटालीमा मात्र ५ हजार ४७६ जनाको मृत्यु भइसेको छ । यस्तै, ५९ हजार १३८ जनामा संक्रमण भेटिएको छ ।

विश्वको सबै भन्दा विकसित मुलुकका रुपमा चिनिने अमेरिका समेत कोरोनाको चपेटामा परेको छ । इटालीपछि संक्रमितको संख्या धेरै भएको मुलुक अमेरिकामा ३५ हजार ७० जना संक्रमित भेटिएका छन् भने ४५८ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा ३३ हजार ८९ जना संक्रमित छन् भने २ हजार १८२ जनाको मृत्यु भइसेको छ । त्यस्तै इरानमा २३ हजार ४९ जना संक्रमित छन् भने १ हजार ८ सय १२ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा ६७४, बेलायतमा २८१, नेदरल्याण्डमा १७९, दक्षिण कोरियामा १११, जर्मनीमा ११, स्वीटजरल्याण्डमा १०७ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा फैलिएको कोरोना संक्रमण नेपालमा समेत भेटिएको पुष्टि भएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण भेटिएको हो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्