सबै कार्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न निर्देशन



मुम्बई । भारतका केही ठाउँमा सबै कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक बाहेकका पसलहरु र कार्यालयहरु बन्द गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले महाराष्ट्र अन्तर्गत पर्ने मुख्य सहरहरु मुम्बई, पुने र नागपुरका पसल तथा कार्यालयहरु यही मार्च ३१ सम्म बन्द गराइने जानकारी दिनुभयो ।

राज्यका नाममा गरेको सम्बोधनका क्रममा मुख्यमन्त्री ठाकरेले सार्जजनिक यातायात र अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु भने सञ्चालन हुन दिइने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सार्वजनिक बिदा होइन तर भीडभाड पनि नगरिदिनु होला ।”

स्वास्थ्य मन्त्री राजेश टोपले यस प्रदेशमा शुक्रबारसम्म ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गर्नुभयो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिलेसम्म २०६ जना कोरोना सङ्क्रमण भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्