विस्फोट परी आठको मृत्यु, २२ घाइते



तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएनु भएको छ ।

मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ ।

अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन् । यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पु¥याउँदै आएको पाइन्छ ।

गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्