नशाको सुरमा आमाबाट शिशु मारिए



लुजियाना,( एजेन्सी)

अमेरिकाको लुजियाना निवासी एक महिलालाइ आफ्नै नौ महिने शिशुको हत्याको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ। लागूऔषधमा लठ्ठिएर सुतेकी उनले घोप्टो परेर सुतेका शिशुलाई दुइवटै खुट्टाले थिच्न पुगेको बताइएको छ।

घरमा शिशुलाई मृत अवस्थामा फेला परेपछि २८ वर्षीया हिथर लुसिल्ले हललाई प्रहरीले पक्राउ गरेको हो। उत्तरी लुजियानाको स्रेभपोर्टदेखि करिब ९७ माइल पूर्वमा पर्ने सो घरबाट कसैले शिशुले श्वास नफेरेको भन्दै प्रहरीलाइ खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुग्दा एक व्यक्तिले शिशुमाथि कृत्रिम श्वासप्रश्वास प्रक्रिया चलाइरहेका थिए। हलका ब्वाइफ्रेन्डले हल पलङमा आफ्ना तीनजना स–साना बच्चासँग सुतेको बयान प्रहरीलाई दिएका छन्। उनले हलले घोप्टो परेका शिशुमाथि खुट्टा राखेर सुतिरहेको देखेर आफूले उनलाई उठाउन खोजेको र बच्चाले त्यतिबेलै श्वास फेर्न छाडिसकेको बताएका छन्।

अन्ततः बिउँझेकी हलले बच्चा बोकेर किचेनतर्फ दौडेको र त्यहाँ घरकै कसैले कृत्रिम श्वासप्रश्वास प्रक्रिया थालेको पनि ब्वाइफ्रेन्डले बताएका छन्। हलले घटनाको केही दिनअघि मिथएम्फटामाइन र अघिल्लो राती एक्सटासी पिल्स खाएको स्विकारेकी छिन्।

प्रतिक्रिया दिनुहोस्