अशक्तका हत्यारालाई फाँसी 



टोकियो, (एजेन्सी)

सन् २०१६ मा छुरा आतंक फैलाएको अभियोगमा जापानका एकजना पुरुषलाई सोमबार त्यहाँको एक अदालतले मृत्युदण्ड सुनाएको छ। उनले एउटा केयर होममा अचानक अन्धाधुन्ध छुरा आक्रमण गर्दा १९ जना शारीरिक तथा मानसिक रूपमा अशक्त रोगीको ज्यान गएको थियो।

जापानी समाचार निकाय क्योदोले सातोसी उएमात्सु नामक ती आक्रमणकारीले बोल्न नसक्ने अशक्त मानिसहरूमा मानव अधिकार पनि नहुने बताएका छन्। ती सातोसी कुनै समय राजधानी टोकियो नजिकको सोही सागामिहारा केयर होममा काम गर्दथे।

हिंसात्मक अपराध कमै हुने मुलुक जापानका जनता यस आमविनाशकारी घटनाबाट स्तब्ध हुन पुगेका थिए। यसअघि पनि जापानको सिम्बुन अखबारमा अन्तर्वार्ता दिने क्रममा उनले मानसिक रूपमा अशक्तलाई बाँच्ने अधिकार नभएको विचार व्यक्त गरेका थिए।

साथै, उनी आफूले समाजकै भलाइका लागि सो हत्या गरेको बताएका थिए।  योकोहामा जिल्ला अदालतले आफूविरुद्धको ेजुनसुकै सजायको निर्णयविरुद्ध अपील नगर्र्ने बताएकाले उनलाई फाँसी दिन आदेश दिएको हो।

तर, प्रतिवादी वकिलहरूले अपराधको समयमा उनी गाँजाको नशामा रहेकाले उनी दोषी सावित हुन नसक्ने बताएका थिए। उक्त हत्याकाण्डमा आफ्नी १९ वर्षीया छोरी गुमाएकी एक महिलाले उनलाई मृत्युदण्डसमेत कम भएको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्