दर्शकविहीन बन्दै सिनेमा हल



हेटौंडा, (नेस)।

सरकारले विभिन्न ठाउँमा हुने सभा–सम्मेलन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ। कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सभा–सम्मेलन, मेला–महोत्सव, सप्ताह तथा अन्य कुनै सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि सूचना जारी गरेको थियो।

तर, हेटौंडामा रहेका सिनेमा हल भने बन्द गरिएका छैनन्। मकवानपुरमा रहेको दुईवटै हल निकै कम दर्शकबीच सञ्चालन हुँदै आएका छन्। हाल पनि दुवै हलमा ३ समय नै शो चल्ने गरेको छ।

हेटौंडा–१० बैंक रोडस्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलाको तुलनामा ७५ प्रतिशत दर्शक कम भएको हल सञ्चालक कैलाश ढकालले बताए।

हलका दर्शकलाई हात सेनिटाइजरले सफा गर्न लगाउने, प्रत्येक घन्टा सिटमा स्प्रे गर्ने र बाथरूपमा ह्यान्डवास सुविधा उपलब्ध गराइएको उनले जानकारी गराए।

दर्शकको स्वास्थ्यलाई मध्यनजर गर्दैै यस्ता कार्य गरिरहेको ढकालको भनाइ छ। ढकाल, नेपाल चलचित्र संघका केन्द्रीय सदस्य हुन्। ढकालका अनुसार आगामी शुक्रबारदेखि हल बन्द गर्ने योजना भने छ। कोरोना भाइरस संक्रमणको डरका कारण फिल्महरूको रिलिज डेट सरेपछि केही समयका लागि हल बन्द गर्न लागेको उनले बताए।

ओम्याक्स हलमा हाल हिन्दी र अंग्रेजी फिल्म चलिरहेको छ। हलका कर्मचारी दिनेश तिमल्सिनाका अनुसार हलमा दर्शकलाई मास्कबिना प्रवेश दिइएको छैन। हलमा विभिन्न ठाउँमा सूचना टाँस गरिएका छन्। ‘फिल्मको सो भने कोरोना भाइरसका कारण रोकेका छैनौं।’ –उनले भने। कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल पनि पर्दछ।

सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारण कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन जान्छ। सिनेमा हलहरूले उचित सावधानी भने अपनाएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्