सिनेमा हलमा कोरोनाको प्रभाव



नेपाल चलचित्र संघले विश्वव्यापीरूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाली सिनेमा घर तथा फिल्म क्षेत्रमा पारेको असरबारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरी छलफल गरेको छ। संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मन्त्री खतिवडालाई कोरोना भाइरसले पारेको प्रभावका बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको छ।

भेटमा मन्त्री डा. खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी गराउँदै नेपाली फिल्म उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको र सबै क्षेत्रको जानकारी एकत्रित गरिरहेको तथा प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे। ‘हामी पर्ख र हेरको अवस्थामा छौं, कुन तहको क्षति हुन्छ त्यहीअनुसार योजना गर्ने हो। आगामी १ महिना कठिनाइ हुने देखिएको छ। केन्द्रीय बैंकसँग बसेर छलफल चलाइरहेका छौं र त्यसलाई अगाडि लानेछौं।’ –भेटमा मन्त्री डा. खतिवडाले भने।

उनले चलचित्र संघका पदाधिकारीलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको तथा नेपाली फिल्म उद्योगका लागि मध्यमकालीन र दीर्घकालीन रणनीतिमा पनि काम गरिरहेको बताए। अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोक्न नाकाहरूमा उच्च सतर्कता अपनाइएको जानकारी गराउँदै मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिलाई एकद्वार प्रणालीमा लैजाने प्रयास गरिरहेको बताए।

त्यसअघि संघका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हलमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाइ गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए। उनले कोरोना भाइरसको प्रभावले हाल सिनेमा हलमा दर्शकको संख्या न्यून भए पनि दैनिकरूपमा विभिन्न किसिमका राजस्व तथा कर तिरिरहनुपरेको गुनासो गरे। ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरञ्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौं। अहिले कोरोना भाइरले प्रभावित पारेको छ, अन्य उद्योगसरह राहत प्याकेज दिनुप¥यो।’ –अध्यक्ष प्रधानले भने।

भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल र रेस्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरूपमा सिनेमा हलमा असर देखिएको अर्थमन्त्रीलाई जानकारी गराए। ‘प्रत्यक्षरूपमा फिल्म हलमा पनि असर परेको छ भने अनिश्चित कालसम्म असर पर्ने देखिएको छ। त्यसैले चलचित्र क्षेत्रलाई पनि रिफाइनान्सिको व्यवस्था गर्नुपर्छ’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने।

महासंघका कार्यसमिति सदस्य अञ्जन श्रेष्ठले कोरोना भाइरसले हुने मृत्युभन्दा त्यसको आर्थिक र मानसिकरूपमा पर्ने असरले मानिसको मृत्यु हुने संख्या बढ्न सक्ने आशंका गरे। नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली फिल्म क्षेत्रमा ठूलो लगानी रहेको जानकारी गराउँदै देशभका २ सयभन्दा बढी हलमा असर परेको बताए। उनले अर्बौंको लगानी जोखिममा परेको भन्दै यसलाई संवेदनशील भएर हेर्न मन्त्रीलाई अनुरोध गरे।

संघका कार्यसमिति सदस्य भाष्कर ढुंगानाले सिनेमा हल निर्माण र यो उद्योगमा प्रत्यक्ष नेपालीको लगानी र रोजगारी सिर्जना भएको भन्दै सिनेमा हलले भने कर तिर्नुपर्ने तर अनलाइन स्ट्रिमिङ सेवामार्फत सिनेमा देखाउँदा नेपालमा कर नतिर्ने अवस्था अन्त्य गरिनुपर्ने बताए। संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उपमहासचिव गोपालकाजी कायस्थ, सदस्यहरू भाष्कर ढुंगाना, अभिनेता दीपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्