कोरोनाको असर कम गर्न पुँजीगत खर्च वृद्धि गर्न जोड 



परिवर्तन देवकोटा, काठमाडौं । 

कोरोनाका कारण विश्व अर्थतन्त्र संकटमा पर्दै गर्दा यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले कोरोनाले अर्थतन्त्रमा पार्ने असरलाई न्यूनीकरण गर्न विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपालीको श्रम गन्तव्यका मुख्य गन्तव्य मुलुकहरूमा कोरोनाको संक्रमण बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव यहाँको अर्थतन्त्रमा देखिन थालेको छ। विप्रेषण (रेमिट्यान्स)लाई अर्थतन्त्रको मुख्य खम्बा मानिरहेको नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै विप्रेषण घट्ने जोखिम बढेको छ।

सरकारले कोरोनाको त्रास बढेसँगै विभिन्न मुलुकमा अनअराइभल भिसा बन्द गरिसकेको छ। जसका कारण विभिन्न मुलुकबाट आयातमा रोक लागिसकेको छ। चीन, दक्षिण कोरिया, जापान, इटली, इरान र फ्रान्स, जर्मनी र स्पेनबाट कृषिजन्य, पशुजन्य तथा बिरुवाजन्य वस्तुको आयातमा रोक लगाइसकेको छ।

यस्तै मुलुकभित्रै पनि कोरोना त्रासका कारण आर्थिक गतिविधिहरू मन्द भएका छन्। पर्यटन, होटललगायतका अर्थतन्त्रको मुख्य स्रोतमा संक्रमणको त्रासले नराम्रो प्रभाव पारेको छ। जसका कारण रकम ‘आइडल’ बनेको अर्थविद् केशव आचार्य बताउनुहुन्छ। रकम चलायमान नहुँदा आर्थिक क्रियाकलापहरू नहुने र जसका कारण अर्थतन्त्रमा संकुचनको अवस्था देखिने उहाँले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘कोरोना त्रासका कारण अर्थबारे कुनै गतिविधि भएका छैनन्, रकम ‘आइडल’ भएको छ। जसका कारण अर्थतन्त्रमा संकुचन देखिंँदैछ।’ उहाँले अर्थतन्त्र चलायमान बनाउन सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। ‘सरकार पुँजीगत खर्च नै गर्न सक्दैन, खर्च बढाउन जोड दिनुपर्छ’ उहाँले भन्नुभयो। पुँजीगत खर्च बनाएमा उद्योग व्यवसायको गतिविधि बढ्ने भन्दै उहाँले सरकारले यस्ता काममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

यस्तै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले कोरोना भाइरसका संक्रमण र त्यसको त्रासका कारण अर्थतन्त्रमा नराम्रो असर पर्ने बताउनुभयो। उहाँले नेपालमा अहिले कोरोना नआइसकेको अवस्थामा त आर्थिक गतिविधिहरू घटिसकेको बताउँदै संक्रमण नै देखियो भने त धेरै ठूलो संकुचन आउने बताउनुभयो। उहाँले भन्नुभयो–‘अर्थतन्त्रमा अहिले नै असर पारिरहेको छ, संक्रमण नै देखा प¥यो भने त संकटकै स्थिति आउन सक्छ, अर्थतन्त्र संकुचन हुन्छ।’

कोरोनाका कारण हुने सम्भावित जोखिमहरू बारे सरकार तथा निजी क्षेत्र तथा सम्बधित निकायले छलफल गरेर नीतिगत संरचना नै मजबुत पार्नुपर्ने उहाँले बताउनुभयो। उहाँले सरकारले निजी क्षेत्रलाई चलायमान बनाएर कोरोनाको जोखिम न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो। मुलुकले यसअघि भूकम्प, नाकाबन्दीजस्ता ठूला दुर्घटना भोगिसकेको बताउँदै यसबाट अहिलेसम्म पाठ सिकेर अभाव न्यूनीकरणतर्फ अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो–‘भूकम्प, नाकाबन्दी तथा अहिलेको बजार  अभावबाट सरकारले पाठ सिक्नुपर्छ, सम्भावित जोखिम न्यूनीकरणका लागि सरकार अहिलेदेखि नै लाग्नुपर्छ।’ अहिले कसैले नसोचेको विपत्ति आइपरेको बताउँदै उहाँले सरकारले यस्ता विपत्तिबाट बच्न तथा जोखिम न्यूनीकरण गर्नेतर्फ नीतिगत संरचना तयार गर्न सरकारलाई सुझाउनुभयो।

उहाँले सरकारले उत्पादन बढाउन र अभाव सिर्जना हुन नदिनका लागि उद्योग व्यवसायलाई राहत दिनुपर्ने औंल्याउनुभयो। उद्योगी व्यवसायीले आफूसँग भएको सामग्री जथाभावी प्रयोग नगर्न सुझाव दिँदै कतै पनि ‘पेनिक’को वातारण सिर्जना नगर्न उहाँले सुझाव दिनुभयो।

प्रतिक्रिया दिनुहोस्