नेपालको फुटबललाई कोरोना सामान्य



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वभरि कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थामा नेपालको फुटबल भने कुनै पर्वाह नगरी अघि बढिरहेको छ। हालै सम्पन्न दुई प्रतियोगिता म्याईभ्याली कप र आहा रारा कप यसको ज्वलन्त उदारहण हुन्।

यी दुवै प्रतियोगिता क्रमशः इलाम र पोखरामा आयोजना भइरहँदा कोरोनाले विश्वमा ४ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका थिए। तर, नेपालका फुटबल प्रतियोगिताका आयोजकले कोरोना सामान्य ठान्दै प्रतियोगिता सकाएरै छाडेका थिए।

यसै क्रममा राजधानीमै पनि फुटबल प्रतियोगितामा कोरोनाको असर परेको छैन। सातदोबाटोस्थित एन्फा भवनको नाकमुनि (एन्फाको मैदान) शहीद स्मारक बी डिभिजन लिग भइरहेको छ। आइतबार मात्रै बाँकी चरणका खेलका खेल तालिका पनि जारी गरिसकेको छ। यसको मतलब यो प्रतियोगिता चैतभित्र नै सकाउने दाउमा छ।

बी डिभिजन लिगको क्लब रानीपोखरी कर्नर क्लब (आरसीटी) का केन्द्रीय सदस्य नरेन्द्रबहादुर श्रेष्ठले लिग बन्द गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ। श्रेष्ठले बताउनुभयो– ‘संसारभरिका खेलकुद स्थगित या रद्द भइरहेको अवस्था छ। कोरोनाको कारण नै भएको हो।

उनीहरूले अर्बौं रकमको नोक्सानीको कुनै ख्याल नगरी मानिसको स्वास्थ्य नै पहिलो प्राथमिकता लिएर नै खेलहरू रद्द गरेका हुन्। नेपालमा कोरोनाबारे कोही गम्भीर देखिएको छैन।

फुटबल खेल हालका लागि स्थगित गरे पनि हुन्छ। हामी सबै क्लबले एन्फालाई भनेका पनि हौं लिग स्थगित गर्नु भनेर। खोई कार्यान्वयन भएको नै छैन। सरकारले नै यसमा हस्तक्षेप गर्नुपर्ने देखिन्छ।

यस्तै नाम नलेख्नु भन्दै एक प्रशिक्षकले नेपाल समाचारपत्रलाई बताउनुभयो।कोरोनाको संक्रमणले गर्दा हामी पनि सावधानी अपनाउनुपर्ने हो। तर, हामीकहाँ खेल भइरहेको छ। एन्फाले नखेल भनेपछि मात्रै क्लबहरूले नखेल्ने हो, नखेल्दा एन्फाको कारबाहीमा पर्छ भन्ने पनि डर क्लबहरूमा हुन सक्छ। विश्वभरि नै कोरोनाको कारण खेल भइरहेको छैन। कोरोनाको कुनै सम्भावना छैन भन्नु पनि बढी नै लापरबाही हो कि ?

एन्फाले दुई साताअघि एक विज्ञप्ति निकालेर फुटबलसम्बन्धी प्रतियोगिता सबै स्थगित भएको जनाएको थियो। तर, यी दुई सातामा माईभ्याली कप, राजर्षि जनक कप र आहा रारा गोल्डकप आयोजना भएका थिए। विज्ञप्तिमा महिला लिग फुटबल स्थगित गरिएको जानकारी पनि गराएको थियो।

तर, बी डिभिजन लिग भने निरन्तर चलिरहेको छ। एन्फाको निर्णय बी डिभिजनमा नलागेको प्रस्ट छ। साथै, यही चैतको अन्तिम साताबाट सी डिभिजन पनि सञ्चालन गर्ने सुरमा छ एन्फा।

एन्फाले दाबी गरिएअनुसार एन्फा कम्प्लेक्समा भइरहेको बी डिभिजन लिगमा सावधानी अपनाइरहेको छ। थर्मा गनको प्रयोग पनि भइरहेको र खेलाडीले पनि सावधानी अपनाइरहेको एन्फाले जनाएको छ। दर्शक पनि त्यति नआउने हुँदा पनि लिग सञ्चालन गरिरहेको एन्फाको भनाइ रहेको छ।

नाम नराख्ने सर्तमा एन्फाका एक पदाधिकारीले बताउनुभयो– ‘बी डिभिजन लिगमा ए डिभिजनजस्तो दर्शक आउँदैनन्। भीडभाड नहुने हुँदा लिग सञ्चालन भइरहेको हो। हामी प्रतियोगिता स्थगित गर्ने पक्षमा पनि छौ। तर, हाल प्रतियोगिता बन्द भएमा क्लबहरू घाटामा जाने पनि पक्का छ।’
हाल चलिरहेको बी डिभिजन लिगमा १२ टोलीको सहभागिता रहेको छ।

सोमबारसम्ममा पाँचौं चरण समाप्त हुँदा सातदोबाटो युवा क्लब पाँचौं खेल जित्दै शीर्ष स्थानमा रहेको छ। त्यस्तै, दोस्रो स्थानमा खुमलटार युवा क्लबले १३ अंक जोडेको छ। बाँसबारी क्लबले ११ अंकसहित तेस्रो स्थान ओगटेको छ।

चौथोदेखि १२औं स्थानसम्म क्रमशः टुसाल युवा क्लब, नयाँबस्ती युवा क्लब, ब्वाइज युनियन, श्रीभगवती, आरसीटी, झम्सिखेल, श्रीकुमारी, पुल्चोक स्पोर्टस् र मध्यपुर युथ एसोसिएसन रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्