आईसीपीमा भन्सार सरेपछि राजस्व बढ्यो



नेपाल समाचारपत्र, विराटनगर । 

आयात सहजीकरणका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको छ। विगतमा एक साता लाग्ने काम भन्सार कार्यालय आईसीपीमा सरेपछि एकै दिनमा हुँदा अन्य नाका डाइभर्ट भएका व्यापारी पनि विराटनगर नाका हुँदै सामान आयात गर्न थालेकाले विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको हो।

विराटनगर भन्सार कार्यालय आइसीपीमा सरेपछि राजस्व असुलीमा सुधार भएको छ। चालू आर्थिक वर्षको साउनदेखि नै लक्ष्यअनुसार राजस्व असुली गर्न नसकेको विराटनगर भन्सार कर्यालयले माघदेखि राजस्व असुलीमा सुधार गरेको हो। भन्सार कार्यालय आइसीपीमा सरेपछि भन्सार जाँचपासमा सहजीकरण भएकाले राजस्व असुली बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

भन्सार आइसीपीमा सर्नुभन्दा पहिले लक्ष्यको ६० देखि ६५ प्रतिशतमात्रै राजस्व असुली भइरहेकोमा हाल राजस्व असुली ७६ प्रतिशत पुगेको विराटनगर भन्सार कार्याल्यका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिनुभयो।

विराटनर भन्सार कार्यालयको माघ महिनाको लक्ष्य ३ अर्ब ९६ करोड रुपियाँ रहेकोमा माघ मसान्तसम्म २ अर्ब ७९ करोड ५४ लाख रुपियाँ असुली भएको उप्रेतीको भनाइ छ। फागुनमा पनि माघकै हाराहारीमा राजस्व असुली हुने अनुमान गरिएको उप्रेतीले बताउनुभयो।

भन्सार कार्यालय आइसीपीमा सरेपछि जोगवनीमा हुने गरेको सवारी जामको समस्या पनि अन्त्य भएको छ। जामका कारण हुने गरेको कठिनाई अन्त्य भएको भन्सार एजेन्ट अरूण खेतानले बताउनुभयो।

कोरोनाले चीनतर्फको आयात केही प्रभावित भए पनि भन्सार जाँच पासमा भएको सहजताले अन्य नाकामा डाइभर्ट भएका वस्तु पनि विराटनगर नाका हुँदै आयात हुन थालेको खेतानले बताउनुभयो। पहिले एक हप्ता लाग्ने काम अहिले केही घण्टामै हुन थालेको खेतानले बताउनुभयो।

आइसीपीमा भन्सार कर्याालय सरेपछि उत्साहजनक रूपमा राजस्व संकलन भइरहेका कारण चालू आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशतसम्म राजस्व संकलन हुने अनुमान विराटनगर भन्सार कार्यालयले गरेको छ। यसैबीच कोरोना भाइरस संक्रमणका कारण विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३१ प्रतिशतले गिरावट आएको छ।

विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामग्रीहरूको आयात प्रभावित भएको हो। विशेषगरी खेलौना, स्याउ, प्लाष्टिकका सामान, जुत्ता, चप्पल, गार्मेन्टका सामग्रीको आयात घटेको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो।

उप्रेतीका अनुसार चालू वर्षको माघ मसान्तसम्ममा चीनसंँग ८ अर्ब ५५ करोड रुपियाँको कुल व्यापार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चीनसँग १२ अर्ब ७५ करोड रुपियाँको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ।

कोरोनाका कारण चीनसंँगको व्यापार अझै गिरावट हुने देखिएको छ। चीनबाट लोड भएर आएका सामान आउने क्रम जारी रहेका कारण हालसम्म आयातमा धेरै प्रभाव परेको नदेखिए पनि थप सामान चीनबाट नेपालका लागि लोड नभएकाले आयातमा अझै गिरावट आउने अवस्था रहेको उप्रेतीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्