कोरोनाको त्रासः नीरफूलको रिलिज स्थगित



पत्रकार फूलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको रिलिज स्थगित भएको छ। आगामी चैत ७ गतेका लागि रिलिज डेट तोकिएको नीरपूmल विश्वव्यापी रूपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको यसको निर्माण संस्थाले जानकारी गराएकोे छ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आह्वान गरिरहेका बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, फिल्मका निर्देशक तथा लेखक फूलमान बलको भनाइ छ– ‘यसबाट दर्शकको निरन्तर पर्खाइ र अपेक्षामा असुविधा पर्न गएको छ। तर विश्वव्यापी महामारीको यस्तो प्रतिकूल अवस्थामा मनोरञ्जनभन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’ नीरफूलको हालै ट्रेलर रिलिज गरिएको थियो। स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने निर्देशक बलले जानकारी गराए।

प्रलयकारी भूकम्पमा बिछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्म सेलो प्रोडक्सनले निर्माण गरेको हो। कार्यकारी निर्माता सोनाम डोमा रहेकी छन् भने निर्माताका रूपमा विभिन्न मुलुकका गैरआवासीय नेपालीले सघाएका छन्। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजलगायतले अभिनय गरेका छन्।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका छन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छ। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन्। फिल्ममा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

यसअघि गत शुक्रबार रिलिज गरिने भनिएको फिल्म म यस्तो गीत गाउँछु २ ले पनि कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर राख्दै रिलिज स्थगित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्