संगीतबाट खुला आकाश खोज्दै सनी



अभिनेत्री सनी रौनियार लामो समयपश्चात् पुनः सुमधुर स्वरका साथ गायन क्षेत्रमा फर्केकी छिन्। प्रेमपिण्ड, सीताजस्ता फिल्मकी अभिनेत्री रौनियार खुला आकाश बोलको गीतको म्युजिक भिडियोसहित लिएर दर्शक स्रोतासामु फर्केकी हुन्।
सनीले करिब २४ वर्षअगाडि सनी नाममै अडियो एल्बम ल्याएकी थिइन्। सो एल्बमश स्रोताले औधी रुचाएका थिए। उनले त्यही समयमा प्रेमपिण्ड, सडक, सीता, दैव सन्जोगलगायतका फिल्मका साथ केही टेलिभिजन प्रोजेक्टमा काम गरेकी थिइन्।
उनी करिब साढे दुई दशकपछि नयाँ गीत खुला आकाशका साथ कला र सांगीतिक दुनियाँमा फर्केकी हुन्। गीतमा विजय शिवाकोटीले शब्द कोरेका छन् भने संगीतकार राजु सिंहले संगीत दिएका छन्।
एरेन्जमेन्ट गोपाल रसाइली किशोर थापाले गरेका छन्। गीतको म्युजिक भिडियो सञ्चारकर्मी तथा निर्देशक भूषण दाहालले निर्देशन गरेका छन्। यसमा छायांकन जीवन रिजालको रहेको छ भने सम्पादन भरत रेग्मीले गरेका छन्। गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
‘नेपाली समाजमा भित्रीरूपमा अझ पनि पुरुषप्रधान मानसिकता रहेको देखेर गीत र भिडियोको माध्यमबाट महिलाको दृष्टिकोण र विचार बाहिर लिएर आउनुपर्ने आवश्यकता महसुस गरें।
यस गीतको माध्यमबाट मैले महिलाको भित्री भावना व्यक्त गर्ने सक्दो प्रयास गरेको छु। साथै यो गीतबाट नेपाली समाजले अझै पनि महिलाको कर्तव्य घरको चार पर्खालभित्र मात्र हो भनी घरभित्रै बस्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेको छ भन्ने कुरामा विमति राख्दै जागरूकता जगाउने आशा राखेको छु’, गायिका तथा अभिनेत्री सनी रौनियारको भनाइ छ– ‘मेरो गीत मेरो मनको नजिक रहेको छ किनकि यसले महिला सशक्तीकरण र सामाजिक समानताको सन्देश दिन्छ।
म, यो गीत नेपाली समाजका सबै महिलालाई समर्पित गर्छु, जसले आफ्नो सम्भाव्यता अथाह छ र आफ्नो सीमा खुला आकाश हो भन्ने विश्वास राख्छन्।’ म्युजिक भिडियोमा गायिका तथा नायिका सनी रौनियार नै देखिएकी छिन् भने श्रमिक र साहसिक महिलाहरूलाई देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्