नवलपरासीमा प्रहरीको गोली लागेर एक युवक घाईते



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार मध्यरात गोली चल्दा स्थानीय एक युवक घाईते भएका छन् । घाइते हुनेमा मध्यविन्दु २ नन्दपुरका ३४ बर्षीय जोगनारायण भन्ने प्रेम महतो रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार गए राती ११ बजे कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोईरीको नेतृत्वमा गस्तीमा रहेको प्रहरी टोलीमाथि ढुंगामूढा भए पछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको थियो ।

कोखा र गोडामुनी गरी २ गोली लागेका महतोको चितवन स्थित मेडिकल कलेजमा उपचार भैरहेको छ भने घटनामा संलग्न मध्यविन्दु ३ का ३० वर्षीय मुन्ना महतो र १९ वर्षीय सुरज महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कोल्हुवाको भित्री सडकमा तिन जना सवार रहेको मोटरसाईकल चेकजांच गर्न रोक्ने क्रममा सवारीले धक्काउँदै युवा समूहले प्रहरी माथि हातपात गर्दा सो घटना भएको हो ।

प्रहरीले युवाहरुको साथबाट एक थान खुकुरी र ना ४९ प ६५१३ नम्वरको मोटर साईकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्