म कसैसँग डराउँदिन: स्वस्तिमा खड्का



फिल्म होस्टेल रिटन्र्सबाट फिल्मी करिअर शुरू गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई छोटो समयमै नेपाली फिल्म क्षेत्र फापेको छ। उनले छोटो समयमै आफूलाई स्थापित गरिन्। कयौं म्युजिक भिडियो, विज्ञापन फिल्म तथा एकपछि अर्को गर्दै लब लब लब, जय भोले,  छक्का पञ्जा–३,  नाइँ नभन्नु ल–५, बुलबुल, घामड शेरेलगायतका व्यावसायिक फिल्ममार्फत दर्शकको मन जित्दै आएकी स्वस्तिमालाई गत वर्ष रिलिज भएको विनोद पौडेल निर्देशित फिल्म बुलबुल करिअरकै दरिलो खम्बा सावित भयो।
फिल्ममार्फत उनले दर्शक तथा समीक्षकको तारिफ त बटुल्न सफल भइन् नै, महिला टेम्पो चालकको भूमिकालाई जीवन्त उतारेकी स्वस्तिमाले त्यसकै सशक्त अभिनयमार्फत नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउन सफल भइन्। केही महिनाअघि श्रीलंकामा सम्पन्न सार्क फिल्म फिल्म फेस्टिवलमा बेस्ट पफर्मर जुरी अवार्ड–२०१९ आफ्नो पोल्टामा पारिन्। त्यसलगत्तै नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय चलचित्र अवार्डमा पनि स्वस्तिमाले बाजी मारिन् भने हालै फ्रान्समा आयोजित साउथ एसियन फिल्म फेस्टिवलमा पनि यो फिल्मले पब्लिक च्वाइस अवार्ड चुम्यो। उनको अर्को फिल्म चपली हाइट–३ चाँडै नै रिलिजको तयारीमा छ। उनै स्वस्तिमासँग नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ ः
फिल्म बुलबुलबाट श्रीलंकामा पहिलो अवार्ड चुम्दाको क्षण कस्तो थियो ?
सार्क फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट अभिनय विधाको अवार्डका लागि आफ्नो नाम उद्घोष भइरहँदाको क्षण शब्दमा व्यक्त गर्नै सक्दिनँ। नेपालमा त प्रायः अवार्ड पाउँदै छु भन्ने कुरा पहिले नै थाहा हुन्छ। तर, विदेशमा भएको अवार्ड समारोहमा अचानक आफ्नो नाम आउँदा सरप्राइज्ड भएँ। बेग्लै प्रकारको खुसीको क्षण थियो त्यो, जुन म शब्दमा व्यक्त गर्नै सक्दिनँ।
बुलबुलबाट देश–विदेशका अवार्ड चुमिरहनुभएको छ, यो अवार्डको श्रेय कसलाई दिनुहुन्छ ?
कुनै पनि फिल्म राम्रोे हुनका लागि त्यसको सम्पूर्ण टिमको उत्तिकै मेहनत हुन्छ। फिल्म बुलबुलमा मैले जस्तो काम गरें, त्यसका लागि मलाई निर्देशक विनोद पौडेल दाइले निकै सहयोग गर्नुभयो। त्यसमाथि आफ्नो मेहनत त छँदै छ। यो एउटा टिमवर्क थियो।
सानोमा एक्ट्रेस बन्छु भन्ने भित्री चाहना थियो। तर, बाहिर कसैलाई भन्दिनथें। त्यो बेला नै त्यस्तो थियो। फिल्म खेल्छु भन्दा मान्छेहरू हास्थे। अहिलेजस्तो फिल्म क्षेत्रलाई सिरियस्ली हेरिँदैनथ्यो।
पहिले अभिनेत्री बन्छु भन्ने सोच थियो ?
सानोमा एक्ट्रेस बन्छु भन्ने भित्री चाहना थियो। तर, बाहिर कसैलाई भन्दिनथें। त्यो बेला नै त्यस्तो थियो। फिल्म खेल्छु भन्दा मान्छे हास्थे। अहिले जस्तो फिल्म क्षेत्रलाई सिरियस्ली हेरिँदैनथ्यो र यो क्षेत्रलाई प्रोफेसनल्ली लिने चलन नै थिएन। त्यसमाथि मेरो परिवारको कोही पनि कला क्षेत्रमा हुनुहुन्थेन। समयसँगै फिल्म क्षेत्रलाई हेरिने दृष्टिकोण धेरै चेन्ज भयो। इन्जिनियरिङ पढे पनि अहिले फिल्म क्षेत्रमा आबद्ध भएँ।
पढेरभन्दा परेर जानिन्छ भन्ने कुरामा कत्तिको सहमत हुनुहुन्छ ?
यसमा सहमत नै छु। किनभने आफ्नै कुरा गर्दाखेरी फिल्म क्षेत्रमा लागेको ५ वर्षमा जति पनि कुरा सिकें, यदि मैले पढेर आएको भए त्यो कुरा पहिले नै सिकेको हुन्थें होला। तर पनि आफूले हरेक काम गर्दा त्यसलाई फरक तरिकाले गर्ने कोशिषचाहिँ सधैं हुन्छ। आफूले सिकेका कुराहरूमार्फत आफूलाई अझ एक्सप्लोर गर्न सकिन्छ कि हेरौं।
तपाईंले पढेको विषयको त काम भएनन नि होइन ?
पढेको कुरा प्रोफेसनमा डाइरेक्ट प्रयोग नभए पनि डेली लाइफमा कुनै पनि बेला काम लागिरहेको हुन्छ। आफ्नै या अरू कसैको घर निर्माण गर्दा बेसिक आइडिया दिन सकिन्छ। मानिसले जुनसुकै विषयमा पढोस् तर पढेको कुरा खेर जाँदैन।
तपाईं जहिले पनि उस्तै फिट देखिनुहुन्छ, यसको रहस्यचाहिँ के हो ?
यसमा खास त्यस्तो राज छैन। मेरो शरीर छिटो नमोटाउने खालको भएका कारण पनि सधैं उस्तै देखिएको हो। फिटनेसका लागि भनेर डाइट प्लान गर्दिनँ। तर, स्वास्थ्य बिगार्ने खानेकुरा कहिल्यै खादिनँ। खानामा सकेसम्म फलफूल तथा ताजा जुस प्रयोग गर्छु भने पानी बढी पिइरहेको हुन्छु। बिहान खालिपेटमा शरीरलाई असर गर्ने खालका खानेकुरा खान्न र बढी चिल्लो राखिएको खानेकुरा पनि खादिनँ। शरीरलाई हानी नगर्ने खाने कुरा खाएपछि मेन्टेनका लागि खासै केही गर्नुपरेको छैन।
तपार्इं सुन्दरतालाई कसरी परिभाषित गर्नुहुन्छ ?
ब्युटी र परफेक्सनको कुनै निश्चित परिभाषा हुन्छजस्तो मलाई लाग्दैन। कुनै पनि व्यक्ति आफैंमा पूर्ण र सुन्दर हुन्छ कसैसँग कम्पेएर गरियो भने त फरक देखिनु स्वभाविक नै हो। मानिस आफू जस्तो छ त्यसमा नै कम्फरटेबल फिल गर्छ र आफूमाथि कन्फिडेन्स राख्छ भने त्यो नै उसको सुन्दरता हो।
सुन्दर देखिनका लागि चाहिँ के गर्नुहुन्छ ?
म आफ्नो सुन्दरताका लागि भने घरमै बनाएको प्याकहरू लगाउँछु। मेकअप गर्दा फाउन्डेसन बेसिक कुरा भएकाले त्यसको गुणस्तर राम्रो हुनु जरुरी छ। यस कारण बाहिरबाट मगाउँछु। आफ्नो स्किनको बनोटअनुरूप डक्टरको सल्लाहअनुसार नै स्किन प्रोडक्ट प्रयोग गर्छु।
आफ्नो कमजोर र बलियो पक्ष के लाग्छ ?
मेरो छिट्टै रिसाउने बानी छ। जुन मेरो कमजोरी हो। मेरो सबल पक्षचाहिँ म आफ्नो काममा अनेस्ट छु। मलाई कुनै पनि काम गर्न र मानिससामु आफ्नो कुरा राख्न डर लाग्दैन। म कसैसँग डराउँदिन।

प्रतिक्रिया दिनुहोस्