जन्मघरमा सङ्ग्रहालय बनाउने रामकृष्णको चाहना



गोकुल घोरसाइने, बारा

लोकप्रिय गायक रामकृष्ण ढकालले बाराको निजगढमा रहेको आफ्नो जन्मघरमा संगीत संग्रहालय बनाउने इच्छा व्यक्त गरेका छन्। होली पर्वको अवसरमा युथ अफ निजगढले आयोजना गरेको रामकृष्ण ढकाल एकल साँझमा बोल्दै आफ्नो जन्मघरमा संगीत संग्रहालय बनाउने चासो देखाएका हुन्।‘जन्मघर सबैलाई प्यारो लाग्छ’, ढकालले भने– ‘निजगढवासीको सहयोग पाएँ भने सबैका लागि अझ यादगार बनाउने सोचेको छु।’

उनले यस कार्यमा निजगढका संगीतप्रेमीसँग सहयोगका लागि आग्रहसमेत गरे। कार्यक्रममा ढकालले मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ, मलाई यो जिन्दगीले कहाँ पु¥यायो कहिले हँसायो कहिले रुवायो, हिरा काट्ने हिरैमा राखेर दुःख काट्ने दुखैमा राखेरजस्ता आप्mना एक दर्जन लोकप्रिय एकल गीत प्रस्तुत गरेका थिए।

फूल भन्छ फुली रहुँ जून भन्छ चम्की रहुँ मन त भन्छ सबैसँग मायामोह राखिरहुँ बाचुन्जेलीलाई र लुकुलुकु लाग्यो मलाई बादलु त्यो कालो केसमा बोलको गीतमा भने गायिका अनु अधिकारीले ढकाललाई साथ दिएकी थिइन्। ढकाललाई वाद्यवादनमा प्रोमेटिभ ब्यान्डका कलाकारहरूले साथ दिएका थिए।
गायनसंगै बीचबीचमा बोल्ने क्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्ध बारेमा पटकपटक चर्चा गरेका थिए।

‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पुगिसके, उनले भन–े ‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सधंै सम्झना आइ नै रहन्छ।’ उनले जन्मस्थानमा आएर पहिलोपटक कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। त्यसैगरी सानै उमेरमा जन्मस्थान छोडेर अन्यत्र लाग्नुपरेकोमा दुःख मनाउ पनि गरेका थिए। जन्मेको गाउँ सम्झँदै ढकाल ४० वर्षपछि निजगढको सांगीतिक कार्यक्रममा सहभागी भएका हुन्।

गायक ढकालको निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलस्थित काठको कच्ची घरमा ४० वर्षअघि जन्म भएको थियो। हाल उक्त स्थानमा अर्कैको पक्की घर ठडिएको छ। ‘पहिले काठको सानो थियो, आफू जन्मेको घर सम्झदै उनले भने– ‘म त्यही आँगन र पिँढीमा खेलेर हुर्केको थिएँ।’ २०३५÷०३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा सरेको उनको परिवार त्यसपछि चितवनको जुगेडीमा बस्दै आएको थियो।

त्यतिबेला निजगढ, सिमरा, चन्द्रपुर र वीरगञ्ज रुटमा चल्ने बसमा गीत गाएर यात्रुलाई मनोरञ्जन दिन शुरू गरेका ढकाल २०४३ सालमा काठमाडौं प्रवेश गरेपछि भने नेपाली संगीत क्षेत्रमा निरन्तर छाउँदै आएका छन्।समय निकालेर ढकालले दिउँसो जन्मघर हेर्न पनि भ्याए। मामाघर पुगे र बालसखाहरूसँग भेटघाट गरे। युथ अफ निजगढका युवाहरूको साथ लागेर पुगेका ढकालले जन्मघरसँगै बालसखाहरू रुद्र तिमल्सिना, कृष्ण र श्याम अधिकारीको घरमा बसेर चिया पिए र फेटो खिचाए। तर पूर्वसूचनाबिना नै पुगेको र परिवारका सदस्य घर बाहिर काममा गएकाले त्यहाँ कसैसँग पनि भेट हुन पाएन।

कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जन्मघरमा संग्रहालय निर्माण गर्ने ढकालको चाहनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हाम्रा लागि पनि गर्वको विषय हो,’ खनालले भने– ‘प्रस्ताव ल्याउनुहोस्, के गर्न सकिन्छ कार्यपालिकामा छलफल गरेर निर्णय गर्न तयार छौँ।’ सोही कार्यक्रममा स्थानीय कलाकारहरू चाँदनी मगर, पुष्पन श्रेष्ठ र पिंकु गहतराजले पनि आफ्नो प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्