अमेरिका–तालिवान सम्झौता, तालिवान कैदी रिहा गर्न नसक्ने राष्ट्रपति घानीको अडान

0
Shares

काबुल (एजेन्सी)
अफगानिस्तानको राष्ट्रपति असरफ घानीले हजारौं तालिवान कैदीलाई रिहा गर्न नसक्ने प्रस्ट पारेका छन्। अमेरिका–तालिवान शान्ति सम्झौतामा राखिएको तालिवान कैदीहरूको रिहाइको प्रावधानलाई लिएर उनले सार्वजनिक रूपमा असहमति जनाएका छन्।
राष्ट्रपति घानीको यस टिप्पणीलाई उक्त सम्झौतामा आउने पहिलो अड्चनका रूपमा लिइएको छ। सम्झौतामा सबै विदेशी बल फिर्ता बोलाउन १४ महिनाको समयसीमा तोकेको छ। त्यसका लागि तालिवानले केयौं प्रतिबद्धता पालना गर्नुपर्ने छ र धरैभन्दा धेरै सहभागितासहितको समावेशी शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नुपर्ने छ।
शनिबार अमेरिका–तालिवानबीच भएको सम्झौतामा अफगान सरकारद्वारा ५ हजार तालिवान कैदी रिहा गर्नुपर्ने कुरा भएको थियो। तालिवानले १ हजार कैदीलाई रिहा गर्नेछ। घानीले अफगानिस्तानको राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा कुनै पनि कैदीको रिहाइ उनको सरकारद्वारा लिइने निर्णय भएको बताए। आफू वार्ता शुरू हुनुअघि कैदीहरू रिहा गर्न तयार नभएको उनले बताए। घानीले भने– ‘कैदीहरूको रिहाका लागि अमेरिकाले अनुरोध गरेको थियो र यो वार्ताको हिस्सा हुन सक्छ तर यो एक पूर्व सर्त हुन सक्दैन।’
यसबीच कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक अन्तर्वार्तामा कैदीको आदानप्रदान विश्वास बहालीको दिशामा एक महत्वपूर्ण कदम मानेको बताएका थिए। सम्झौताको १४ महिनाको समयसीमाका बारेमा भने– ‘सबै कुरा आपसमा जोडिएका छन्। कैदीहरूको आदानप्रदान आत्मविश्वास निर्माण उपायहरूमध्येबाट एक हुनेछ, यसका लागि यो अत्यन्तै महत्वपूर्ण कदम हुनेछ र जसलाई हामीले अघि बढाउनुको आवश्यकता छ।’
यसैबीच अमेरिकी विदेश मन्त्री पोम्पिेयोसँग अमेरिकी यात्रा गरिरहेका अमेरिकी अधिकारीहरूले घानीको बयानको उल्लेख नगरिकन सम्झौतामा ५ हजारसम्म कैदीहरू रिहा गर्ने सर्त रहेको बताए।
ट्रम्पको चेतावनी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान तालिवानसँग भएको सम्झौतामा सन्तोष व्यक्त गर्दै चेतावनी पनि दिएका छन्। यदि, सम्झौता लागू गर्नमा कुनै प्रकारको गडबढ भएमा ठूलो संख्यामा सैनिक पठाउने चेतावनी दिँदै भने– ‘अमेरिकाले अफगानिस्तानमा यति ठूलो फौज पठाइनेछ, त्यति ठूलो कहिल्यै कसैले देखेको हुनेछैन।’ ह्वाइट हाउसमा आफनो एक सम्बोधनमा ट्रम्पले अमेरिका र तालिवानबीच भएको सम्झौताको स्वागत गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा चाँडै तालिवान नेताहरूसँग भेट्ने र अमेरिकी फौज फिर्ता गर्न शुरू गर्ने बताए।