५ हजार तालिवान छाड्दैनौं: राष्ट्रपति घानी

0
Shares

काबुल,(एजेन्सी)
अफगान राष्ट्रपति असरफ घानीले आइतबार आफ्नो सरकारले अमेरिका र तालिवान लडाकूहरूबीचको सम्झौतामा भएको सहमतिअनुसार लडाकूहरूलाई रिहा नगर्ने बताएका छन्। शनिबार कतारको राजधानी दोहास्थित एक पाँच तारे होटेलमा अमेरिका र तालिवान लडाकू समूहबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अमेरिका र अफगानिस्तानबीचको १८ वर्ष लामो युद्धको विधिवत अन्त्य भएको थियो।
उक्त सम्झौताअनुसार आगामी १० मार्चभित्रमा १ हजारजना सरकारी बन्दीको बदलामा अफगान सरकारले ५ हजारजना तालिवान लडाकू मुक्त गर्नु पर्दथ्यो। घानीले भनेका छन्– ‘वार्ताका लागि यस्तो बन्दी रिहाइ गर्ने पूर्वसर्त राखिनु हुन्न। बरु यो वार्ताको एक बुँदासम्म हुनसक्छ।’
अमेरिका र तालिवानबीच भएको सहमतिअनुसार चरणबद्ध रूपमा अमेरिकी फौजलाई अफगानिस्तनबाट फिर्ता लगिने छ। यसरी लडाकूहरू मुक्त गर्ने आधारमा कटरपन्थी इस्लामिक लडाकू समूह तालिवान अफगान सरकारसँग शान्ति वार्ताका लागि तयार भएको थियो।
यस सम्झौताअनुरूप तालिवानले आफूबाट नियन्त्रित क्षेत्रहरूमा अलकायदा र अन्य उग्रवादी समूहहरूलाई कुनै पनि गतिविधि सञ्चालन गर्नबाट रोक्नेछ। सम्झौता सम्पन्न भएको २४ घन्टा बित्न नपाउँदै राष्ट्रपति घानीले पूर्ण युद्धविराममा पुग्दासम्म हिंसा कम हुँदै जाने तर ५ हजार तालिवान छाड्न सरकार बाध्य नहुने विचार प्रकट गरेका छन्।
सन् २००१ को ११ सेप्टेम्बरमा ओसामा बिन लादेनको निर्देशनमा अलकायदाका लडाकूहरूले अमेरिकाको न्युयोर्क सिटीस्थित वल्र्ड ट्रेड सेन्टरका टवीन टावर, पेन्टागन र पेनसिल्भानियाको सान्क्सभिल्ले नजिकको चउरमा आक्रमण गरिएपछि अमेरिकाले ७ हजार माइल टाढाको अफगानिस्तानमा आक्रमण गरेको थियो।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको विश्वव्यापी आतंकवादविरुद्धको अभियानअन्तर्गत अफगानिस्तानमा भएको सो हमलापछि त्यहाँको तालिवान सरकारलाई अपदस्थ गरिएको थियो। अब मध्यएसियाको गरिब तथा युद्धग्रस्त मुलुक अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता हुने क्रम शुरू हुनेछ। हाल अफगानिस्तानमा १२ देखि १३ हजारको बीचमा अमेरिकी फौज रहेका छन्।
उक्त ऐतिहासिक सम्झौतामा अमेरिकी विशेष दूत जोल्मे खलिलजाद र तालिवानका प्रमुख वार्ताकार अर्थात् तालिवान लडाकू समूहका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घानी बारादारले हस्ताक्षर गरेका हुन्। एक वर्षभन्दा लामो समयसम्म पटक–पटक भएको औपचारिक वार्तापछि दोहामा यो हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।