सैन्य सम्मानका साथ मुवारकको अन्त्यष्टि



कायरो। 

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको सैन्य सम्मानका साथ बुधबार अन्त्यष्टि गरिएको छ । मङ्गलबार ९१ जर्षको उमेरमा निधन भएका मुवाराकको शव निधन भएको ठाउँबाट अन्त्यष्टि गर्ने ठाउँमा हेलिकोप्टरमार्फत ल्याइएको थियो ।

छिमेकी न्यू कायरोमा उहाँको अति सघन कक्षमा राखेर उपचार गरिरहेकै बेला अस्पतालमै निधन भएको थियो । उहाँको निधनप्रति स्वदेशी तथा अन्तर्राष्ट्रिय धेरै नेताहरूले दुःख व्यक्त गर्दै उहाँलाई विभिन्न तरिकाले स्मरण गरेका छन् ।

करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्यूत गरिएको थियो । इजिप्टका पूर्वराष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बन्नुभएको थियो । सन् २०११ जनवरी २५ मा उहाँलाई आन्दोलनको बलमा पदच्यूत गरिएको थियो ।

उहाँलाई सरकारविरुद्ध भएको जनप्रदर्शनको क्रममा सयौँ निर्दोष व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो । त्यो अभियोगबाट अदालतले सफाइ दिएपछि उहाँ सन् २०१७ को मार्चमा रिहा हुनु भएको थियो ।

सन् १९२८ मा मुनोफियामा जन्मनु भएका मुवारक किशोर अवस्थामा वायुसेनाको जागिर खानु भएको थियो । विद्रोही र हक्की स्वभावका मुवारक अनेक सङ्घर्षका साथ लामो समय शासक बन्नु भएको थियो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्