सीमामा कोराना भाइरस सहायता कक्षा स्थापना



बैतडी । 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आज कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो ।

झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाईएको छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताउनुभयो । कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख भट्टका अनुसार सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने तथा रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ ।

अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिनुभयो । सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि आज सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्