एक अर्ब बढीको कारोबार गर्दै सकियो विराट एक्स्पो



सरोज यादव,विराटनगर

विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रर्दशनी शनिवारबाट समापन भएको हो । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्र्तराष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्य अनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रर्दशनी अवधिमा ३ लाख २५ हजार ब्यक्तिले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी गराउनुभयो । उहाँले ऐतिहासिकरुपमा एक्स्पो सम्पन्न भएको बताउँदै एक्स्पोको सफलताले आफुहरु हौस्सिएको बताउनुभयो । दुलालले आगामी दिन प्रदर्शनी स्थल निर्माण गरेर ब्यापार मेलालाई निरन्तरता दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

विराटनगर २ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टलहरु राखिएका थिए । जसमध्ये बंगलादेश,भारत,श्रीलंका,पाकिस्तान र भुटानका ४५ वटा स्टलहरु थिए । एक्स्पोमा राखिएका सबै स्टलहरुमा सोचेभन्दा राम्रो ब्यापार भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनु भयो । उहाँले अपेक्षा भन्दा राम्रो ब्यापार र उपलब्धि गर्दै यसपटकको एक्स्पो ऐतिहासिकरुपमा सम्पन्न भएको बताउनु भयो ।

एक्पोका कारण उपभोक्ता उद्योगी र ब्यापारी एकैठाँउ जुट्ने अवसर प्राप्त भएको पूर्वाञ्चल ल्युब आयलका कन्ट्री म्यानेजर पशुपति साहले बताउनुभयो । उहाँले बेलाबखत ब्यापार मेलालाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजक समितिले जनाएको छ ।

प्रर्दशनीमा अन्तर्राष्ट्रिय उद्योगका उत्पादनका साथै मेचीदेखी महाकालीसम्मका नेपाली उद्योगहरुले आफ्ना उत्पादन प्रबद्र्धन र विक्रीकालागि ल्याएका थिए । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका थिए । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको थियो ।

एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको थियो । एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीलेसमेत अफर लिएर आएका थिए । उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् । एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताउनुभयो । ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उनको भनाइ छ ।

बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् । एक्स्पोको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रूपैयाँमा सेवा प्रदान गर्दै आएको थियो ।

हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप रहेको थियो । एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका थिए । एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ ।

बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको थियो । जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको थियो । हेटौैंडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ । तर, यस्तो व्यवस्थित कतै पाइएन ।” आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताउनुभयो । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन ९ दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्