देशकै पुरानो गणले मनायो २५७ औं वार्षिकोत्सव



न्युज अफ नेपाल,हेटौंडा।

पुरानो गोरखगणको २५७ औं वार्षिकोत्सव कार्यक्रम मकवानपुरको भैंसेमा रहेको ब्यारेकमा भएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै नेपाली सेनाका उपरथी प्रभुराम शर्माले नेपाली सेनाको बलिदानबाट नै आधुनिक नेपाल निर्माण भएको बताउनुभयो । गणमा रहेका सेनाले पहिलो र दोस्रो विश्वयुद्ध लडेकोसमेत उहाँले स्मरण गर्नुभयो ।

पुरानो गोरखगण र मकवानपुरको सम्बन्ध निकै राम्रो रहेको भन्दै उहाँले गणले जिल्लाबासीलाई निकै सहयोग गरेको बताउनुभयो । शर्माले गणका सेनाले गरेको त्याग र समपर्णको उच्च कदर गर्दै एकीकरण अभियान नेपाली सेनाले गरेको योगदान कहिल्यै भुल्न नसकिने बताउनुभयो ।

पुरानो गोरखगणका गणपति अनिल बुढाथोकीले गणको इतिहासबारे प्रष्ट पार्नुभयो । ब्यारेकमा दिनभर विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गरिए । विजयीलाई पुरस्कार तथा ट्रफी बितरण गरिएको थियो ।कार्यक्रममा कर्तव्यपालनका सिलसिलामा घाइते तथा बिरामी परिवारलाई सहयोग गरिएको थियो ।

वीरगतिप्राप्त सैनिक श्रीमति र परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका विभिन्न गणका गणपति, पूर्वसैनिक र सैनिकका परिवारलगायतको सहभागिता थियो ।मकवानपुरगढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने बेला खस, मगर, गुरुङ र ठकुरी चार जातमात्र विश्वसिला हुन् भनी आफ्ना फौजमा यी जातिलाई नै भर्ती गर्ने गरेका थिए ।

त्यसमा पनि मगर र गुरुङलाई विशेषस्थान प्राप्त थियो । राज्य एकीकरणमा मगरको पुरानो गोरखगण निर्माण गरिएको थियो । राज्य एकीकरणमा यी फौजले प्रमुख भूमिका निभाएका थिए ।पुरानो गोरखगण नेपाली सेनाको सबभन्दा पुरानो गणमध्ये एक गण हो । यसको स्थापना विस १८१९ फागुन १० गते भएको हो । आधुनिक नेपालको उद्गमस्थल गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि सेनाको अपरिहार्यतालाई स्वीकार गरी सेनाको संस्थागत विकास सुरु गरेको देखिन्छ ।

नेपाल एकीकरणको सुरुमा सन् १७४४ मा नुवाकोट र मकवानपुर राज्य कब्जा गर्दा लडाईंमा सहभागी भएका मगरले बहादुरी, देशभक्ति तथा इमान्दारिता प्रदर्शन गरेका थिए । उक्त विजय अभियानमा मधु राना, जसु राना, नरवीर आले, सञ्जित थापालगायत धेरै मगर सैनिकले वीरगति प्राप्त गरेका थिए ।

यसरी मगरले पु¥याएको योगदानबाट प्रभावित भएर मकवानपुरगढी कब्जा गर्दा बरामद भएको हतियार तथा धनको सहयोगले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट गोरखनाथ बाबाको स्मृतिस्वरुप मगर जातिलाई मात्र भर्ना गर्ने गरी गोरख कम्पनी स्थापना भएको हो । विस १८४० पुस १६ मा रणबहादुर शाहले खडा गरेको अर्को कम्पनीको नाम पनि ‘गोरख’ नै जुरेकोले उक्त पल्टनलाई पुरानो गोरख पल्टन र नयाँ कम्पनीलाई नयाँ गोरख कम्पनी नामाकरण गरियो । विस २००९ सालको पुनर्गठनमा उक्त पल्टन परानो गोरखगणका रुपमा परिणत भयो ।

लामो इतिहास बोकेको गणमा स्थापनाकालदेखि हालसम्म मगर जातिलाई मात्र भर्ना गरिने गरिएको छ ।नेपाल एकीकरणका सिलसिलामा पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट त्रसित बनेका काठमाडौंका मल्ल राजा जयप्रकाश मल्लले तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीसँग सहायता मागेपछि मल्ल राजाहरुको पक्षमा गोर्खाली फौजसँग लड्न क्याप्टेन किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेज फौजलाई उक्त गणसमेत सम्मिलित फौजले सिन्धुली जिल्लाको सिन्धुलीगढीमा वीरतापूर्वक लडाईं लड्दा गोर्खाली फौजसँग केही नलाग्ने भएपछि क्याप्टेन किनलक आफ्नो बचेका फौजसहित भाग्न बाध्य भएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्