सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी



काठमाडौं, (नेस)।

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको वास्तविकता पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

पूर्वसचिव कार्कीले मंगलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ। किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उहाँकी पत्नी मुनाको हत्या भएको थियो भने चौधरीले झुन्डिएर आत्महत्या गरेका थिए। आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो। टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन्।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाइ आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घरमा रहेको सीसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ।

यद्यपि, पोस्टमार्टम रिपोर्ट र फरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो। उनीहरूको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उहाँले बताउनुभयो। चौधरी सानैदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्