सेवाको गुणस्तर बृद्धि गर्न सार्वजनिक सुनुवाई 



बासुदेव शर्मा,जाजरकोट । 
नलगाड नगरपालिकाबाट प्रवाह हुने सेवामा प्रभावकारीता, ल्याउन सेवा प्रदायक र सेवाग्राही नागरिक बिच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले दिने  बस्तु तथा सेवा प्रभावकारी रुपमा संचालनको लागी सार्वजनकि सुनुवाई कार्यक्रमको आयोजना गरेको हो  ।

समृद्ध नगर निर्माण गर्ने योजना साथ अगाडी वढेको नलगाड नगरपालिकाले नगरवासीहरुको जन चाहाना अनुसार सेवा प्रवाह भए नभएको पत्ता लगाई नलगाड नगरपालिकालाई शु-शासन मैत्री बनाउन नगरपालिकाबाट विनियोजन भएका योजनामा लगाएत प्रवाह भईरहेका   सेवा प्रति नागरिकहरुबाट आएका गुनासाहरुलाई आत्मसाथ गरि आगामी योजनाहरु संचालन गर्न विगत वर्ष देखी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

सुनुवाईमा उपस्थित सहभागी नागरिकहरुले मानिसको जिवनसग प्रत्यक्ष सम्वन्ध जोडिएको कृषि स्वास्थ्य, शिक्षा लगाएतका विषयहरुलाई प्राथमिकताका साथ लिनु पर्ने, शिक्षा क्षेत्रमा भएको वेथिति अनियामिततालाई रोक्नु पर्ने, सवै वडाहरुमा  कृषि कार्यक्रम संचालन गर्नु पर्ने लगाएतका आफना भनाई सरोकारवालासग राखेका थिए ।
नागरिकका जिज्ञासाको कृषि शाखाका प्रमुख बालकृष्ण आचार्या, पशु शाखाका प्रमुख भेष जंग शाह, शिक्षा शाखाका प्रमुख बलविर विक स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्की, लगाएत न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख वालकुमारी वस्नेतले सेवाग्राही नागरिकबाट आएका जिज्ञासको  सम्वोधन गर्नु भएको थियो  ।

 नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले आर्थिक वर्ष २०७६।०७७ मा प्रवाह हुने योजनाका विषयमा जानकारी गराउनु भएको थियो । यस आर्थिक वर्षमा १ सय ४२ वटा योजना विनियोजन गरेको नगरपालिकाले  ६७ वटा योजना सम्झौता भएको बाँकी योजना सम्झौताको प्रक्रियामा रहेको वताउदै पुजिगत तर्फ १३.२९ प्रतिशत र चालु तर्फ ३६.२५ प्रतिशत खर्च भएको वताउनु भयो । नलगाड नगरपालिकाले  ६ महिना यता १७ लाख ६ सय १० रुपैया राजश्व प्राप्त गरेको वताउनु भयो ।

 स्थानिय कानुन ११, ऐन ४,नियामावली १, कार्यविधि ६ वटा निर्माण गरेको छ । त्यस्तै ६ वटा कार्यविधि, १ वटा नियामावली, ५वटा विधेयक निर्माणाधिन अवस्थाम रहेको भएको वताउनु भयो । हाल सम्म नगरपालिकाले ५७ वटा नियामावली निर्माण गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिहले वताउनु भयो ।
न्यायिक समितिमा १७ वटा मुद्धा दर्ता भएको फैसला १ वटा, मिलापत्र ६ वटा, जिल्ला अदालतमा ३ वटा पठाएको पेशीमा ७ वटा मुद्धा रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिहले प्रस्तुत गर्नु भएको थियो ।

समृद्ध नगरपालिका निर्माणको यात्रामा अगाडी वढेको अवस्थामा नागरिकहरुवाट आएका गुनासाहरुलाई आत्मसाथ गरि कार्यक्रम संचालन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरेको नगर प्रमुख टेक बहादुर रावलले बताउनु भयो ।
नगरापालिकाले दिने सेवा प्रभावकारी रुपमा प्रवाह गर्न तयार रहेको वताउनु भयो ।  समृद्ध नगर निर्माण गर्न नागरिक समाज, शिक्षक बुद्धीजिवि आम सरोकारवालाहरुले सल्लहा सुझाव दिन आग्रह गर्नु भयो । निर्माणाधिन अवस्थामा रहेका ऐन, कानुन, नियमाबलीहरु विधायन सभासम्म निर्माण गर्ने वताउनु भयो ।

नगरपालिकाको सेवालाई सुधार गर्न नगरपालिका र नागरिकहरुले ६ वुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषणा गरेका थिए । सेवा प्रदायक निकायका प्रमुखहरुले सेवाको गुणस्तरियातामा बृद्धी गर्ने प्रतिवद्धता जनाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण असल शासन क्लव जिल्ला समन्वय समितिले गरेको थियो । १३ वटै वडाका नागरिकहरुलाई नगरपालिकाबाट प्रवाह हुने सेवाको जानकारी गराउन नगरपालिकाका ३ स्थानमा सार्वजनिक  सुनुवाई गर्ने भएको छ  ।

नागरिकहरुले नगरपालिका र नागरिकहरुको प्रत्यक्ष सम्वन्ध राख्ने कार्य क्रमका बारेमा जानकारी गराउने योजनाहरु प्रभावकारी वनाउने भएकोले बर्षको दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्न नागरिकहरुले आग्रह गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्