काठमाडौं महानगरभित्र रात्रिकालिन यातायात सञ्चालन हुने



नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो।

बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो।

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिनुभयो। उहाँले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘महानगरपालिकाले यसअघि नै नमुनाका रूपमा टुँडिखेलवरिपरि ‘पिक एन्ड ड्रप’ शुरु गरिसकेको छ। शुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ शाक्यले भन्नुभयो– ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाहिँ सार्वजनिक यातायात पर्खिने वातावरण निर्माण गर्दै यात्रुहरुको सहजतालाई पनि ध्यान दिएर हामीले रात्रिकालिन सेवा शुरु गर्न लागेका हौँ।’

शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गर्नुभयो। ‘पहिला जस्तो केही समय चलाएर बन्द गर्ने गरी सेवा सञ्चालन गर्ने होइन दीर्घकालिन सेवा दिने योजना बनाउनु होला महानगर सहयोग गर्न तयार छ’ –उहाँको भनाइ थियो।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेन्टी महासंघले गर्नुपर्नेमा जोड दिनुभयो। ‘प्रस्ताव सकारात्मक छ,’ उहाँले भन्नुभयो– ‘रात्रीकालिन सेवा सञ्चालन गर्नुको विकल्प छैन। यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ।’

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रीकालिन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले पनि नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आवागमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।

रात्रीकालिन सेवा सञ्चालनका लागि सुरक्षा दिन आफूसक्षम रहेको बताउनुभयो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जीवनप्रसाद आचार्यले पनि योजना सकारात्मक भएको भन्दै सकेसम्म छिटो शुरु गर्नुपर्नेमा जोड दिनुभयो। काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि छिट्टै काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्