रेडियोधर्मी विधेयक पारित



काठमाडौं, (नेस)। 

‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी प्रस्तुत विधेयक पारित भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले विधेयक पारित गरेको हो। उक्त विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा प्रस्तुत गर्नुभएको थियो।

उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। बैठकमा मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त विधेयक पारित गर्नुपरेको धारणा राख्नुभएको थियो।

बैठकमा उहाँले क्यान्सरको उपचार, कृषि आधुनिकीकरण, गाईवस्तुको नश्ल सुधार, एक्सरेलगायतका विभिन्न महत्वपूर्ण काममा समेत रेडियोधर्मी पदार्थको आवश्यकता पर्ने भएकाले त्यसको अध्ययन, अनुसन्धान र नियमन गर्न विधेयक ल्याइएको प्रस्ट्याउनुभयो।

यस विधेयक राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा आउनेछ। ऐनका रूपमा आइसकेपछि यसै ऐनलाई टेकेर पारमाणविक भट्टी नै खोलेर नेपालमै रेडियोधर्मी पदार्थको उत्पादन, यससम्बन्धी पदार्थ आयात र निर्यात गर्न सक्नेछ।

यस्तो कार्य निजी क्षेत्रले समेत इजाजत लिएर गर्न सक्ने विधेयकमा उल्लेख छ।ऐन नभएकै कारण नेपालले अन्य मुलुकबाट रेडियोधर्मी पदार्थ आयात गर्नुपरिरहेको छ। अब यस ऐन आएपछि नेपालले आवश्यक रेडियोधर्मी पदार्थको उत्पादन आफैँ गर्न सक्नेछ।

विधेयकमा नेपाललाई आवश्यकताभन्दा बढी उत्पादन गरी विदेश निर्यातसमेत गर्न सक्ने प्रावधान राखिएको छ। रेडियोधर्मी पदार्थ भन्नाले अल्फा कण, बिटा कण, गामा रे, जस्ता विकीरण सिर्जना गर्न सक्ने पदार्थ भनेर बुझिन्छ। यसको प्रयोग अस्पतालमा एक्सरेलगायतका कार्य गर्न, कृषि मल बनाउनका लागि हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्