सरकारलाई संग्रौलाको प्रश्न : यती समूहलाई किन राज्यको सम्पत्ति जिम्मा लगाइयो ?



काठमाडौं, (नेस)।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डीला संग्रौलाले कानुन परिवर्तन नै गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा डा. संग्रौलाले राज्यलाई अर्बौं घाटा हुने गरी सरकारले यती समूहलाई महत्वपूर्ण क्षेत्र सुम्पिनुको कारण प्रधानमन्त्री केपी ओलीसँग माग गर्नुभएको हो।

नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको संग्रौलाले टिप्पणी छ। ‘अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ, नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ, पाँच अर्ब रुपियाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन लिइयो?’ –नेतृ संग्रौलाले प्रश्न गर्नुभयो।

पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रुपियाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको भन्ने विषयमा पनि सरकारको जवाफ माग गर्नुभएको छ।

‘यतीसँग सति जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु। साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु’ –संगौलाले भन्नुभयो।

प्रधानमन्त्री ओलीको उपस्थितिमा बालुवाटारमा आयोजित सारंगी साँझप्रति पनि संग्रौलाले तीखो आलोचना गर्नुभएको छ। ‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नुभएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो। कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ’ तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ,’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्