पनौतीमा शुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता



मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबारबाट शुरु भएको प्रतियोगितामा नीजि र सामुदायिक गरी २२ विद्यालयका विद्यार्थीहरु सहभागि छन् ।

शुक्रबार समापन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवर्दी लगायतका खेलहरु समावेश गरिएको छ । १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ भने ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विद्याहरु समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख मधुसुदन अधिकारीले जानकारी दिनु भयो । रिले अन्तर्गत ४×१०० र ४×४०० रिले दौड समेत आयोजना गरिएको छ ।

त्यस्तै भलिबल तर्फ छात्र र छात्रा समुह विभाजन गरिएको छ । छात्र तर्फ ९ टिमले सहभागिता जनाउने छन् भने छात्रा तर्फ ८ टिमले सहभागिता जनाएका छन् । कवर्दी खेलमा पनि ८ समुह छात्र/छात्रा सहभागि भएका छन् । झण्डै ३ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । गत वर्ष पनौतीको पनौती बोर्डिङ्ग स्कुलले रनिङ्ग ट्रफि हात पारेको थियो । यो वर्ष १२ नीजि विद्यालयका विद्यार्थीहरु सहभागि रहेको शिक्षा शाखाकी पुष्पा अर्यालले जानकारी दिनु भयो ।

प्रतियोतिाको उद्घाटन पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले खेलकुद प्रतियोगिताले विद्यार्थीहरु प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो ।

उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले प्रतियोगिताका बारेमा मन्तब्य राख्नु भएको थियो । महेश्वर जंगमले संचालन गर्नु भएको कार्यक्रम सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष किशोर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्